इटहरी- पचास वर्षअघि सप्तकोशी नदीमा पहिलोपटक जलयात्राको सफल परिक्षण भएको थियो। प्रथम सगरमाथा आरोही सर एड्मन्ड हिलारी नै थिए पहिलोपटक सप्तकोशीमा जेट बोट यात्रा गर्ने।
आफ्ना साथी जोन ह्यामिलटनसँगै सन १९६८ मा हिलारीले सप्तकोशी बग्ने चतराबाट दोलालघाटसम्मको १७५ किलोमिटर जेट बोटमा यात्रा गरेका थिए। हिलारीले जेट बोट यात्रा गरेको भिडियो युटु्यबमा आइडि भिन्टेज नामक एक क्यानेडेली संस्थाको आइडिबाट अझै हेर्न सकिन्छ।
हिलारीले १७५ किलोमिटर क्षेत्रमा जलयात्रा गरेपनि हाल व्यवसायिक जलयात्रा भने १५ किलोमिटर मात्रै हुने गरेको छ। सुनसरीको चतरादेखि दक्षिणी भोजपुरको हतुवागणी गाँउपालीकाको तटीय क्षेत्रसम्म जलयात्रा गराउँछन व्यवसायिक जेटबोट कम्पनीहरुले। प्रति जेटबोटको मुल्य १ करोडबाट सुरु हुने कम्पनीहरुको भनाइ छ।
हाल सप्तकोशीमा नेपाल रिभर ट्रान्सपोर्ट प्रालि र बराहक्षेत्र जल यातायात तथा पर्यटन प्रालीले तीस सिटका दुइ जहाजबाट जल यातायाको सेवा दिइरहेका छन्। यो सुविधाले दक्षिणी भोजपुर र पूर्वी तराईको सात घन्टाको दुरी छोटीएर २० मिनेट भएको छ।
२०६६ सालबाट संचालनमा आएको नेपाल रिभर ट्रान्सपोर्ट प्राली र २०७४ चैत्रबाट संचालनमा आएको बराहक्षेत्र जल यातायात प्रालीसँगै दुइ नयाँ कम्पनी सप्तकोशीको जलयात्रामा प्रवेश गर्ने भएका छन्।
सप्तकोशीमा यही फागुनबाट कोशी एडभेन्चर प्रालीले फागुन महिनाबाट नयाँ व्यवसायिक जलयात्रा सुरुवात गर्ने भएको छ। यस अघि ४ वटा र्याफ्टिङ मात्रै गराउँदै आएको एभडेन्चर प्रालीले अब व्यवशायीक जेटबोट र स्पिडबोट संचालनमा प्रवेश गर्ने भएको छ।
कम्पनीका संचालक सुरेश बस्नेतका अनुसार ६ सिटेदेखि २६ सिटसम्मका १८ वटा जेटबोट र स्पिडबोट सप्तकोशीमा संचालनमा आउनेछन्। आवश्यक प्यासेन्जर बोट निर्माणको लागि भारतीय कम्पनीसँग सम्झौता भइसकेको बस्नेतले बताए।
यसैगरी बराहक्षेत्र मरिन रिसोर्ट प्रालीले सप्तकोशीमा चारवटा प्यासेन्जर बोट सञ्चालन गर्न लागेको छ। १० जना बोक्ने २ वटा र २५ जना र १ सय जना बोक्ने १-१ जेट बोट संचालनको तयारी भएको संचालक नविन पौडल बताउँछन्।
थप पढ्नुहोस्, अक्करको विकल्प जेटबोट, सहज बन्दै जीवन
रात्रिकालिन समयमा समेत यात्रा गर्न सकिने फक्स लाइट जडित साना बोट संचालनको समेत तयारी भएको पौडेल बताउँछन्। सुनसरीको चक्रघट्टीमा एक रिसोर्टसहित सञ्चालन गरिने जलयात्रा मनोरन्जन र यात्रा दुवैको लागी हुने संचालक पौडेलको भनाइ छ। पुर्वाधार तयारी भएपनि संचालन मिति भने तय भइ नसकेको कम्पनीको भनाइ छ।
पूर्व मन्त्री प्रदीप नेपालको कम्पनी बन्द
यसरी दुई पुराना र दुइ नयाँ जेटबोट कम्पनीहरुले सेवा दिन लागिरहेको बेला सप्तकोशीमा व्यवशायिक जलयात्रा गराउने दोश्रो कम्पनी भने संचालनमा आउन सकेको छैन। पूर्व मन्त्री प्रदीप नेपाल, पुर्व सभासद हरी बैरागी दाहाल र पूर्व डिआइजी ज्ञानेन्द्रराज राईलगायतको स्वामित्वमा रहेका सुम्नीमा यातायात प्राली, २०६७ भदौबाट संचालनमा आएको थियो।
सुम्नीमा यातायातको बोट २०६८ श्रावणमा दुर्घटना भएपछि संचालन बन्द भएको थियो। बराहक्षेत्र नजिकै दुर्घटना भएको उक्त बोटले १० यात्रु बोकेको थियो जसमा ९ जना पौडेर बाचेपनि एक जना हराएका थिए। हराएका अझै भेटिएका छैनन्। बन्द कम्पनीलाई पुनःसंचालन हुने वा नहुनेबारे केही निर्यण नभएको पूर्व मन्त्री तथा नेकपाका केन्द्रिय नेता नेपाल बताउँछन्।
'दोलालघाट र तुम्लीङटारसम्म जल यातायात संचालन गरिनेछ'
सप्तकोशीमा एकपछि अर्को जल यातायात गराउने कम्पनीहरु थपिँदै गर्दा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जलयात्रायातको दुरी लामो बनाउने बताएका छन्। गत पुष १ गते जेटबोट चढेर आफ्नो गृहजिल्ला भोजपुरको दक्षिणी हतुवागणी पुगेका मुख्यमन्त्री राईले प्रदेश १ को जलयात्राको दुरी बढाउने बताएका थिए।

हाल चतरादेखि हलेदेसम्मको १५ किलोमिटरको दुरी बढाएर संखुवासभाको तुम्लीङटार र काभ्रेपलान्चोक जिल्लाको दोलालघाटसम्म लगिने मुख्यमन्त्रीले बताएका थिए। गत पुष ४ गते उद्योग वाणिज्य महासंघले विराटनगरको होटल इस्टर्न स्टार्समा भएको कार्यक्रममा पनि मुख्यमन्त्री राईले यो कुरा बताएका थिए।
नेपालका लागि भारतीय राजदुत मन्जित सिंह पुरी र नेपाली लगानीकर्ता तथा व्यापारीहरुलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ मा जल यातायातको सम्भावना रहेको बताएका थिए। प्रदेश १ सरकार आफैं अध्ययन गरेर तुम्लीङटारसम्म र प्रदेश ३ सरकारसँगको सहकार्यमा दोलालघाटसम्म व्यवसायिक जलयात्राको तयारी गर्ने राईले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४