धनगढी- तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रित सुदुरपश्चिम खप्तड गोल्ड कपमा थ्री स्टार क्लबले च्यासल युथ क्लबलाई पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सोमबार धनगढी रंगशालामा भएको खेलमा थ्री स्टरले च्यासललाई १-० ले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।
थ्री स्टारको जितका लागि खेलको एक मात्र निर्णायक गोल रुपेश केसीले गरे । उनले खेल सकिन तीन मिनेट समय बाँकी रहँदा गोल टोलीलाई महत्वपुर्ण जित दिलाए । च्यासलका गोलरक्षक दिनेश थापा मगरले सुनील बलको क्रसमा रुपेशको हेडर बचाउने प्रयास गरेपनि आफ्नै डिफेन्डर बाधक बन्दा गोल बचाउन सकेनन्।
खेलको ७ औं मिनेटमा थ्री स्टारका फोफाना फोडे आफैको प्रहार गरेको बल च्यासलका गोलरक्षक दिनेशले क्लियर गरि दिए। १९ औं मिनेटमा च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासल अग्रता लिनबाट चुक्यो।
२८ औं मिनेटमा सुनिल बलले गरेको फ्रि-किक प्रहार पोस्टको भित्रि भागमा लाग्दै फर्किदा थ्री स्टार अग्रता लिनबाट चुक्यो । ४२ औं मिनेटमा अर्मान्डले गरेको प्रहारले दिशा लिन सकेन । ५८ मिनेटमा बुद्ध राई लिम्बूले गरेको प्रहार करसर बार माथिबाट बहिरोयो।
६२ औं मिनेटमा अर्मनको प्रहार थ्री स्टारका गोलरक्षक एलन न्यौपानेले बचाउदा त्यसको केहि समयमा नै सुनिल बलको प्रहार च्यासलका गोलरक्षकले बचाए। ७२ औं मिनेटमा सुनिल बलको पासमा रुपेश केसिले गरेको वन टोच प्रहारले दिशा लिन सकेन । ८२ औं मिनेटमा करिब २५ याडबाट रन्जन बिष्टको भलि प्रहार क्ररसर बारम लाग्दै फर्कियो।
खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रुपेश केसी म्यान अफ द म्याच बने। उनले १० हजार रुपैयाँ प्राप्त गरे। विजयी टोलीका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेको कारण नै जित हासिल गरेको बताए।
‘लिगमा हाम्रो प्रदर्शन सन्तोषजनक रहेको थिएन। टोलीमा केहि परिवर्तन गरेका थियौं र आज डिफेन्स निकै बलियो भयो। अब अर्को खेलमा पनि यसै सिलसिला कायम राख्ने लक्ष्य हुनेछ,’ उनले भने।
थ्री स्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काक्करभिट्टा फुटबल ट्रेनिङ सेन्टरको सामना गर्नेछ । मंगलबार अन्तिम क्वाटरफाइनलमा सीएमजी क्लब संकटाले क्यामरुनको दाफिनास एफसीको सामना गर्नेछ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४