जनकपुरधाम- कर्मचारीहरूले प्रदेश मन्त्रालयका सचिव कुट्ने मन्त्रीमाथि कारबाही गर्न माग गरेका छन्। निजामती कर्मचारीले वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई कुटपिट गर्ने प्रदेश २ का अर्थमन्त्री विजय यादवमाथि कारबाही गर्न माग गरेका हुन्।
प्रदेशका विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीले मुख्यमन्त्री लालबाबु राउत र प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेललाई भेटेर मन्त्री यादवलाई कारबाही गर्न माग गरेका छन्।
निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन धनुषाको अगुवाइमा पुगेका कर्मचारीले मुख्यमन्त्री राउत र प्रमुख जिल्ला अधिकारी कणेललाई ज्ञापनपत्र बुझाउँदै मन्त्री यादवलाई कारबाही गर्न माग गरेका छन्।
मन्त्रीको कार्यकक्षमा सचिव झाउपर भएको हातपातसम्बन्धी घटनाप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको भन्दै दोषीलाई कारबाही गर्न ज्ञापनपत्रमा माग गरिएको छ।
‘गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्तर्गत संस्था छनौटसम्बन्धमा छलफल गर्न आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले आफ्नो कार्यकक्षमा बोलाई सचिव झालाई हातपात गरेको घटनाले समग्र कर्मचारीको मनोबल गिरेको छ,’ कर्मचारीले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ।
कर्मचारीहरूले सचिव झाको उपचार, घटनाको न्यायिक छानबिन र सुरक्षाको प्रत्याभूति गराउनसमेत माग राखेका छन्।
कर्मचारीहरुले २४ घन्टाभित्र माग पूरा गर्न अल्टिमेटम दिँदै माग पूरा नभए सोमबारदेखि हातमा कालोपट्टी बाँधी सशक्त कार्यक्रम गर्न बाध्य हुने चेतावनी दिएका छन्।
मुख्यमन्त्री राउतले ज्ञापनपत्र बुझ्दै घटनाको छानबिन गर्न समिति गठन भइसकेको र समितिले दिएको प्रतिवेदनका आधारमा कारबाही प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४