धनगढी – नेपाली कांग्रेसका सभापती एवम् पूर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद अनियमितता प्रकरणमा मुछेर आफ्नो चरित्र हत्या गर्न खोजेको आरोप लगाएका छन्।
नेपाल समयसँग सोमबार धनगढीमा कुरा गर्दै देउवाले भने, ‘ वाइडबडी विमान खरिदमा भ्रष्टाचार गर्नेलाई कारवाही गर्नुपर्छ भनेर संसदमा बोल्ने मान्छे म कसरी संलग्न हुन्छु।’ विमान खरिद प्रक्रियाका सबै महत्वपूर्ण निर्णय तत्कालिन केपी ओली र पुष्पकमल दाहाल सरकारकै पालामा भएको बताउँदै देउवाले आफ्नो पालामा कुनै निर्णय नभएको स्पस्ट पारे। ‘बिमान खरिदका बिषयमा मेरो पालामा मन्त्रीस्तरिय एउटा पनि निर्णय भएको छैन’, देउवाले भने, ‘ओली प्रधान्मन्त्री हुँदा उपसमिति गठन भएको हो, दाहाल प्रधानमन्त्री हुँदा टेण्डर खुलेको हो।’
१८ वटा मन्त्रालयमा कहाँ के काम हुन्छ भन्ने बारेमा आफूलाई सबै कुरा थाहा नहुँने भन्दै देउवाले कामहरु सचिव स्तरिय निर्णयबाट नै हुने भएकाले सबै कुरा आफूलाई थाहा नहुँने दोहोर्याए। उनले आफ्नो गल्ती ढाक्न बर्तमान सरकार बिभिन्न प्रपन्चमा लागेकोसमेत बताए। देउवाले भने, ‘२०७२ साल असोज २१ गते वाइडबडी खरिद गर्ने निर्णय भएको थियो, त्यतीबेला प्रधानमन्त्री केपी ओली थिए, त्यस्तै २०७३ बैशाख २ गते दाहालको पालामा खरिदको बोलपत्र गरिएको थियो।’ उनले थपे, ‘मेरो पालामा वाईडबडी विमानबारे कुनै काम नै भएको छैन, मेरो कसरी संलग्नता भयो? यो सब अहिलेको सरकारको जनतालाई भ्रम पार्ने खेल हो।’
यस्तै प्रेस युनियन कैलालीले बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा देउवाले सरकार वर्तमान सरकारले निर्मला पन्तका हत्यारालाई संरक्षण गरेको आरोसमेत लगाए। सरकारकै कारणले देशको शान्ति सुरक्षा, भ्रष्टाचार र अनियमितता मौलएको दोउवाको आरोप थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४