जनकपुरधाम- प्रदेश २ का एक मन्त्रीले प्रदेश मन्त्रालयका एकजना सचिवलाई कार्यकक्ष भित्रै कुटपिट गरेका छन्। प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले प्रदेश मन्त्रालयका एक सचिवलाई कुटपिट गरेको घटना बाहिरिएको छ। पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई मन्त्री यादवले आफ्नै कार्यकक्षमा बोलाएर कुटेका हुन्।
आइतबार तीनबजे मन्त्री यादवले आफ्नो कार्यकक्षमा बोलाएर आफूलाई कुटपिट गरी दुव्र्यवहार गरेको सचिव झाले बताएका छन्। मन्त्री यादवले सिफारिस गरेको एक एनजिओलाई कार्यक्रम नपरेको निहुँमा आफूलाई उनले कुटपिट गरी दुव्र्यवहार गरेको अस्पतालमा उपचार गराइरहेका सचिव झाले नेपाल समयलाई बताए।
गरिबी निवारण कार्यक्रम अन्तर्गत क्षमता अभिवृद्धि सम्बन्धी कार्यक्रमका लागि १ सय ९३ एनजिओले आशयपत्र बुझाएका थिए। जसमध्ये ४० एनजिओ छनौटमा परेका छन्। तर, छनौटमा परेका ४० मध्ये मन्त्री यादवले भनेको एनजिओ नपरेपछि उनी झोक्किएको सचिव झाले बताए।
‘कार्यक्रम पार्न मन्त्रीज्यूले केहि दिनअघि दुईवटा एनजीओको नाम सिफारिस गर्नु भएको थियो। मैले खर्च लिई सकेको भन्दै दुई मध्ये सिरहाको एक एनजीओलाई जसरी पनि पार्नुपर्ने भन्नु भएको थियो,’ सचिव झाले भने, ‘मैले विचार गर्छु भनेको थिएँ। तर, शायद उहाँले पक्का ठान्नु भयो।’
सिफारिस गरेको एनजीओ समावेश नभएपछि मन्त्रीले लिएको पाँच लाख रुपैयाँ समेत आफू्रलाई तिर्न भनेको सचिव झाले बताए। ‘तपाईले लिएको पैसा मैले किन तिर्ने भनेपछि उहाँ झोक्किनु भएको हो। मन्त्री ज्युले मलाई तथानाम गाली गर्नु भयो। आवेशमा आएर मैले पनि केहि अपशब्दहरु प्रयोग गरें, उनले भने।’
‘म तपाईको कर्मचारी हुँ। मलाई गाली गर्नुस्, तथानाम गालि नगर्नुस् भनेपछि, उहाँले सभामुखकै अगाडी मलाई झापड हान्नु भयो’, उनले भने, ‘सभामुखले नरोकेको भए सायद मलाई बढी चोट लाग्थ्यो होला।’
मन्त्री यादवले कुन एनजीओको नाम सिफारिस गरेको प्रश्नको जबाफमा सचिव झाले भने, ‘मन्त्रीज्यूले मेरो डायरी र फाइल दुबै खोस्नु भएको छ। नाम यकिन हुन सकेन। फाइल र डायरी पाए नाम भन्न सकिन्छ। डायरीमा उहाँको नाम र सिफारिस गर्नु भएको सिरहाको एनजीओको नाम टिपोट गरेको छु।’ छनौटमा परेका एनजीओहरुको नामसमेत आफ्नो स्मरणमा नरहेको सचिव झाले बताए।
आफूलाई कुटपिट गरी दुब्र्यवार गर्ने मन्त्री यादवलाई कारबाही हुनुपर्ने सचिव झाको माग छ। सचिव झाले आफूमाथि कुटपिट भएको कुरा स्वास्थ्य परीक्षणबाट पनि स्पष्ट भइसकेको बताउँदै राष्ट्रसेवक कर्मचारीलाई दुव्र्यवहार गर्ने मन्त्रीलाई कारबाही हुनुपर्ने बताए। अस्पतालमा उपचार गराइरहेका सचिव झाले उपचारपछि मन्त्री यादवविरुद्ध प्रहरीमा अपराध मुद्दा दर्ता गराउने जनाए।
के भन्छन् मन्त्री यादव?
तर, मन्त्री यादवले भने आफूले सचिव झालाई कुटपिट नगरेको दाबी गरेका छन्। सचिव झालाई कुटपिट गरेको भए प्रमाण देखाउन उनले चुनौती दिएका छन्। आफू सभामुखसँग छलफल गरिरहेको बेला कार्यकक्षमा पुगेका सचिव झालाई बाहिर जान भनेको मन्त्री यादवले बताए। तर उनी १० मिनेटपछि फर्किएको मन्त्री यादवको भनाइ छ।
आफूले कुटपिट गरेको आरोपमा कुनै सत्यता नरहेको उनको दाबी छ। यसैगरी एनजीओ सिफारिसबारे आफूमाथि लगाइएको आरोपसमेत निराधार रहेको मन्त्री यादवले बताए। ‘एनजीओको सिफारिस गर्नै परे सम्बन्धीत मन्त्रीलाई गर्थें। मन्त्रीलाई सोध्नुस् मैले सिफारिस गरेको छु, छैन? उनले भने।’
यता प्रदेश २ का विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीहरुले सचिवलाई कुटपिट गर्ने मन्त्रीमाथि कारबाहीको माग गर्दै मुख्यमन्त्री लालबाबु राउतसमक्ष ज्ञापन पत्र बुझाउने तयारी गरेका छन्। पर्यटन, वन तथा वातावरण मन्त्रालयका एक कर्मचारीले घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सोमबार मुख्यमन्त्रीसमक्ष ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको छ।
घटनाको छानबिन गर्न समिति
सचिव झामाथि भएको कुटपिटसम्बन्धी घटनाको छानबिन गर्न प्रदेश सरकारले तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। समितिमा प्रदेश २ का प्रमुख सचिव दीपक सुवेदी र मुख्यमन्त्री कार्यालयका सचिव हरि फुयाल सदस्य छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४