जनकपुर- प्रदेश नम्बर २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले सचिव विद्यानाथ झामाथि कुटपिट गरेको घटनाका विषयमा छानबिन गर्न समिति गठन भएको छ ।
प्रदेश सरकारले आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको हो । समितिमा मुख्यसचिव दिपक सुवेदी र मुख्यमन्त्रीको कार्यालयका सचिव हरि फुयाल सदस्य रहेका छन् ।
घटनाबारे छानविन गर्न आइतबार साँझ समिति गठन गरिएको मुख्यसचिव सुवेदीले जानकारी दिए। छानविन समितिले आजैबाट आफ्नो काम थाल्ने भएको छ ।
आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नो कार्यकक्षमा बोलाएर आइतबार कुटपिट गरेका थिए । आफूले सिफारिस गरेको एजजिओलाई कार्यक्रम नपारेको निहुँमा मन्त्री यादवले सचिव झालाई कुटपिट गरेको बताइएको छ ।
आफूले भनेको एनजिओलाई कार्यक्रम नपारेको भन्दै मन्त्री यादवले आफ्नै कार्यकक्षमा प्रदेश २ का सभामुख सरोज यादवकै अगाडी झापड तथा लातलेक कुटपिट गरी दुव्र्यहवहार गरेको सचिव झाले बताएका छन् । उनी अहिले अस्पतालमा उपचारका लागि पुगेका छन् ।
यता कर्मचारीहरुले मन्त्रीमाथि तत्काल कारबाही गर्नुपर्ने माग गर्दै सोमबार मुख्यमन्त्रीलाई ज्ञापन पत्र बुझाउँदैछन् । मन्त्रीमाथि कारबाही नभए आन्दोलन गर्ने कर्मचारीको तयारी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४