भैरहवा – ०७१ भदौ २७ गते भैरहवा कैलाश पथका ३८ वर्षीय आकाश गुरुङको अपहरण भयो। अपहरणकारीले गुरुङका घरपरिवारसँग एक करोडभन्दा बढी रकम फिरौती माग गरेका थिए। परिवारलाई फिरौती रकम मागेर पनि उनीहरुले गुरुङलाई कहिले भैरहवाको चिल्ड्रेनपार्क त कहिले कता गराउँदै अन्तमा असोज १२ गते नवलपरासीमा लगेर हत्या गरे। उक्त घटनापछि भैरहवा क्षेत्र आतंकित बनेको थियो।
रोजगारीको सिलसिलामा कोरिया बसेर फर्केका आकाश परिवारको एक्लो छोरा थिए। आकाशका पत्नी र दुई छोरा छन्। आकाशको हत्या भएपछि शोकमा डुबेर उनका बुबाको निधन भयो। आमा मुटुको बिरामी हुन पुगिन्। एउटा परिवारको खुसीयाली लुट्ने उक्त घटनाको मुख्य नाइके भैरहवाकै केदार साहनी थिए। उनकै योजनामा भारतीय अपराधीको संलग्नतामा आकाशको हत्या भएको थियो। त्यतिबेला रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकाल थिए।
आकाशका आफन्त डा. रामप्रसाद बस्याल त्यतिबेलाको घटना सम्झिँदै भन्छन्, ‘१२, १४ दिनसम्म अपहरणकारीले फिरौती माग्ने र धम्क्याउने गरिरह्यो। हामीले प्रहरीलाइ बारम्बार भन्यौं। प्रहरीले लोकेसन नै पत्ता लागेको छैन भन्दै पन्छियो।’
प्रहरीले मोस्ट वान्टेड सूचीमा राखेर केदारको खोजी गरिरहेको थियो। सोही क्रममा बुधबार राति भैरहवामा प्रहरी कारबाहीमा उनको मृत्यु भएको छ। रातको करिब १२ बजेतिर मोटरसाइकलमा सवार प्रहरीमाथि गोली प्रहार गरेपछि जबाफी फायरिङ गर्दा एक जनाको मृत्यु भएको र मृतक प्रहरीको मोस्ट वान्टेड केदार साहनी भएको प्रहरीको दाबी छ।
‘भारतीय नम्बर प्लेट युपी ५३ एच २०२८ को मोटरसाइकलमा रातको समयमा शंकरपुर क्षेत्रमा हिँडिरहेका व्यक्तिले गस्तीमा खटिएको प्रहरीमाथि गोली प्रहार गरेका थिए। जबाफ फर्काउँदा एकजनाको मृत्यु भएको छ’, रुपन्देही प्रहरी प्रमुख एसपी हृदय थापाले भने। आक्रमणकारीको गोली प्रहारबाट प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्। उनको स्वास्थ्य अवस्था सामान्य छ।
आकाश गुरुङ हत्या घटनाका अर्का अभियुक्त साहनीका सहयोगी मोस्टवान्टेड सूचीमा रहेका भारतीय नागरिक भारत निचलौल महाराजगन्ज स्थायी ठेगाना भएका सरफरोस अलीको दुई वर्षअगाडि रुपन्देहीको विष्णुपुरा गाविसअन्तर्गत पर्ने पर्सहवा रुद्रपुर सडकखण्डमा प्रहरीको जबाफी कारबाहीका क्रममा मृत्यु भएको भएको थियो। उनी त्यतिबेला युपी ५ पी ५८६३ नम्बरको अपाचे सेतो रङको मोटरसाइकलमा र उनका सहयोगी युपी ५५ सिसी ४३४३ नम्बरको स्पेलेन्डर मोटरसाइकलमा विष्णुपुराको पूर्वतिरको गाउँबाट निस्किरहेका थिए। नेपाल प्रहरीको सादा पोसाकका प्रहरीसँग पर्संहवा रुद्रपुर सडकखण्डमा जम्काभेट भएको थियो। सोही क्रममा अलिको मृत्यु भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४