बुधबार, पुस ९, २०८२

पाल्पामा चालु आवमा १८८ क्षयरोगी

 |  आइतबार, चैत १७, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत १७, २०८१

पाल्पा- पाल्पामा चालु आर्थिक वर्षको आठ महिनामा एक सय ८८ नयाँ क्षयरोगी भेटिएका छन्। जिल्लाका दश वटै पालिकामा क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। 

National life

कार्यालयका अनुसार गत वर्ष तीन सय ६३ क्षयरोगी फेला परेकामा यस वर्ष आठ महिनामा एक सय ८८ जना फेला परेका र तिनीहरूको प्रत्यक्ष निगरानीमा उपचार भइरहेको छ। आठ महिनाको अवधिमा सबैभन्दा बढी तानसेनमा ४०, रामपुरमा ३७, रैनादेवी छहरामा १९, माथागढी तथा निस्दीमा १८/१८ क्षयरोगी फेला परेका छन्। 

यस्तै पूर्वखोलामा १५, तिनाउमा १२, बगनासकालीमा ११, रिब्दीकोटमा १० र रम्भामा आठ क्षयरोगी भेटिएको स्वास्थ्य कार्यालयले जनाएको छ। गत वर्ष १३ जनाको क्षयरोगका कारण मृत्यु भएको कार्यालयले जनाएको छ। मृत्यु हुनेमा सबैभन्दा बढी रामपुरमा चार जना रहेका छन्। अन्य पालिकामासमेत क्षयरोगीको मृत्यु भएको थियो। यस वर्षको आठ महिनाको अवधिमा १४ जनाको मृत्यु भएको जनाइएको छ। क्षयरोग देखिएपछि नियमित औषधि सेवन नगर्ने र स्वास्थ्य जाँच गर्न नआउने बिरामीको मृत्यु भएको हो।

जिल्लामा क्षयरोगीको सङ्ख्या न्यूनीकरणमा सोंचेजस्तो सफलता भने मिल्न सकेको छैन। विगत १८ वर्षदेखिको अवस्था हेर्दा क्षयरोगीको सङ्ख्या स्थिरजस्तो देखिएको छ। कुनै वर्ष केही सङ्ख्या थपिएको छ, भने कुनै वर्ष केही ओरालो लागेको देखिन्छ। जिल्लामा आर्थिक वर्ष २०६३/६४ देखि अहिलेसम्म छ हजार आठ सय २५ जनामा क्षयरोगको सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। यो १८ वर्षको अवधिमा उक्त बिरामीको ग्राफमा उल्लेखनीय रूपमा कमी आउन सकेको छैन।

जिल्लामा विगत १८ वर्षको तथ्याङ्कलाई हेर्दा स्वास्थ्य कार्यालयले २०३५ सम्ममा जिल्लालाई नगन्य रूपमा लैजाने लक्ष्य राखे पनि पूरा नहुनेमा शङ्का गर्न थालिएको छ। क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने, माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामको सूक्ष्म कीटाणुबाट हुने सरुवा रोग भएको कार्यालयका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताए। 

Laxmi sunrise bank
kumari

यहाँका सबै पालिकामा खकार जाँच गर्ने उपकरण रहेका छन्। जिल्लामा ७२ क्षयरोग उपचार केन्द्र, माइक्रोस्कोपी केन्द्र १२ र जिन एक्पर्ट जाँच केन्द्र दुई वटा रहेका छन्। जिन एक्पर्ट जाँच तानसेनको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा मात्र गर्ने गरिएको छ। 

क्षयरोगको शङ्का लागेका बिरामीलाई पालिकामै खकार जाँच गरेर नियमित नि:शुल्क उपचार तथा औषधिको व्यवस्था गरिएको जिल्लाका पालिकाले जनाएका छन्।

प्रकाशित: Mar 30, 2025| 08:45 आइतबार, चैत १७, २०८१
प्रतिक्रिया दिनुहोस्