बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • पत्रकार रजकको मृत्यु प्रकरण : दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन

पत्रकार रजकको मृत्यु प्रकरण : दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

काठमाडौं- पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी मृत्यु भएका पत्रकार तथा सञ्चारकर्मी सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ।  

National life

नेपाल पत्रकार महासङ्घको अगुवाइमा पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारबाहीको माग गर्दै आज बिहान माइतीघरमा विरोध प्रदर्शन गरिएको छ। 

शुक्रबार पूर्वराजा समर्थकहरूको समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन रजकको शव जलेको अवस्थामा भेटिएको थियो।

पत्रकार महासङ्घका कार्यबाहक अध्यक्ष दीपक आचार्यले पत्रकारको जिउधनको सुरक्षाका लागि सम्पूर्ण पत्रकारहरू एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिए। उनले मृतक पत्रकार रजकलाई न्याय दिलाउन महासङ्घ निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे।

विरोध प्रदर्शनमा पत्रकार महासङ्घका पूर्वअध्यक्षहरू तारानाथ दाहाल, धर्मेन्द्र झा, शिव गाउँलेलगायतको उपस्थिति रहेको थियो। विरोधका कार्यक्रममा प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टर नेपालका नेताहरूले पत्रकार रजकलाई न्याय दिन र उनका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरे।

Laxmi sunrise bank
kumari

बदलिएको परिस्थितिका कारण महासङ्घ स्थापना दिवसका अवसरमा गर्न लागिएका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको महासङ्घका केन्द्रीय कोषाध्यक्ष रामकृष्ण अधिकारीले जानकारी दिए।

उनका अनुसार आजै पत्रकार महासङ्घको उपलब्ध केन्द्रीय सदस्यहरूको आकस्मिक बैठक बसेर थप सङ्घर्षका कार्यक्रम तय गर्ने र सञ्चार तथा सूचनाप्रविधिमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउनेलगायका कार्यक्रम महासङ्घले गर्नेछ।

प्रकाशित: Mar 29, 2025| 11:05 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्