मंगलबार, साउन १९, २०८३

चिनी उत्पादन अनुपातमा ह्रास

 |  शनिबार, चैत १६, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत १६, २०८१

महोत्तरी-  गत वर्षको तुलनामा उखुबाट चिनी उत्पादन अनुपातमा ह्रास आएको यहाँको गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योगले जनाएको छ।

सो उद्योगका अनुसार चालु आर्थिक वर्षमा एक क्विन्टल उखुबाट ८.७२ केजी चिनी उत्पादन भएको छ। गत वर्ष सोही परिणामको उखुबाट ९।११ केजी चिनी उत्पादन भएको उद्योगका महाप्रब्धक सुरेन्द्र शुक्लाले बताए।

उद्योगले यसवर्ष लक्ष्यभन्दा करिब चार लाख क्विन्टल कम उखु ‘क्रसिङ्’ गरेको छ। गत मङ्सिर २६ गते सुरु भइ फागुन मसान्तसम्म सञ्चालनमा रहेको उद्योगले ३१ लाख चार हजार १६३ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ७० हजार ५८८ क्विन्टल चिनी उत्पादन गरिएको शुक्लाले बताए। गत वर्ष उद्योगले २९ लाख चार हजार ५१२ क्विन्टल उखु क्रसिङ् गरेर दुई लाख ६४ हजार ५९१ क्विन्टल चिनी उत्पादन गरेको थियो।

उखु क्रसिङ् र चिनी उत्पादनको परिमाण बढी देखिएपनि  चिनी उत्पादनको अनुपात घटेको उद्योगले जनाएको छ। यसवर्षको उखुबाट चिनी उत्पादन अनुपात घट्नुको कारण खोजि भइरहेको उनले बताए।

किसान भने हिउँदमा पानी नपर्दा चिनी उत्पादन घटेको हुनसक्ने बताउँछन्। गत बर्खामा पनि अनुकूल वर्षा नहुनुले उत्पादन अनुपात घटेको हुनसक्ने बर्दिबास–९ पशुपतिनगरका किसान महेन्द्र महतोले बताए।

यसवर्ष उद्योगले ३५ लाख क्विन्टल उखु क्रसिङ् गरी तीन लाख १५ हजार क्विन्टल चिनी उत्पादनको लक्ष्य लिएको थियो। तर उखु अभाव भएपछि चैतभरि चल्ने क्रसिङ् फागुन मसान्तसम्म मात्र चलेको महाप्रबन्धक शुक्लाले जानकारी दिए। किसानले उखुको उचित मूल्य नपाउँदा उत्पादन वृद्धि हुन सकेको छैन।

प्रकाशित: Mar 29, 2025| 09:31 शनिबार, चैत १६, २०८१
प्रतिक्रिया दिनुहोस्