काठमडौं- टोखा नगरपालिकालाई तीन वर्ष भित्र धुलोरहित बनाउने तयारी भएको छ । तीन वर्षपछि माक्स लगाउनु पर्ने अवस्थाको अन्त्य गर्ने नगरपालिकाको मेयर प्रकाश अधिकारीले घोषणा गरेका हुन् ।
शनिबार टोखाको भुतखेलमा भएको मिलन समाजको वार्षिक साधरण समाजमा बोल्दै मेयर अधिकारीले टोखालाई उत्कृष्ट नगर बनाउन प्रयत्नशील रहेको बताए । उनले वडा नम्बर ८ मा ठूलो उद्यान वा मुटुसम्बन्धी अस्पताल बनाउनका लागि छलफल भइरहेको जानकारी दिए ।
शनिबार भएको मिलन समाजको वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको छ। टेकबाहदुर थापाको नेतृत्वमा १५ सदस्यीय कार्य समिति चयन गरेको हो । उक्त समारोहमा निवर्तमान अध्यक्ष बोधराज देवकोटाले आर्थिक वर्ष २०७३/७४ र ०७४/७५ को वार्षीक प्रतिवेदन पेश गरेका थिए । उनले नयाँ नेतृत्वलाई सफल कार्यकालको शुभकामना समेत दिए ।
नव निर्वाचित अध्यक्ष थापाले पूर्वअध्यक्ष देवकोटाले सञ्चालन गरेको कार्यक्रम र योजनालाई निरन्तरता दिने प्रतिवद्धता समेत जनाएका छन् । कार्यक्रममा करिव ४०० स्थानीय सहभागी भएका थिए । वार्षिक साधरण सभासँगै वनभोज कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा वडाअध्यक्ष केशवबहादुर खत्री, महिला सदस्य निशा पाण्डेलगायत सहभागि थिए । कार्यक्रम समाजका निवर्तमान सचिव प्रमोदनिधि तिवारीले सञ्चालन गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४