इलाम- पाँच दिनदेखि अनशनरत डा गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्न थालेको छ । उनी अरुसँग बोल्न समेत छाडेका छन् ।
इलामको फूलगाछीस्थित एक स्थानीय नागरिकको घरमा पाँच दिनदेखि अनशनरत डा केसीको शरीरमा ग्लुकोजको मात्रा कम भएको र रक्तचाप पनि असामान्य देखिएको चिकित्सकले बताएका छन् ।
‘डाक्टर सा’बको शरीरमा ग्लुकोज घटेको छ, रक्तचाप पनि सामान्य छैन,’ उनको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा रामकृष्ण आचार्यले भने । मौसममा देखिएको खराबीका कारण पनि डा केसीलाई अझै समस्या भएको चिकित्सकले जनाएका छन् । डा आचार्यका अनुसार केसीले सलाइन चढाउन नमानेकाले समस्या अझै असहज बन्दै गएको छ ।
डा केसीले शनिबारदेखि कोहीसँग खासै बोलचाल गरेका छैनन् । स्वास्थ्यमा गम्भीर समस्या नभए पनि बिग्रँदो अवस्था रहेकाले सावधानी अपनाउन सुझाव दिइएको सहयोगी चिकित्सकले जनाएका छन् ।
शिक्षा तथा स्वास्थ्य संसदीय समितिले पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा असहमति जनाउँदै डा केसी पुस २५ गते देखि इलाममा अनशन बसिरहेका छन् । १५ औं अनशनपछि सरकारसँग भएको सम्झौता कार्यान्वयन नभएपछि उनी आक्रोशित बन्दै आएका छन् ।
डा केसी अनशन बसेको भोलिपल्टैबाट उनको जीवनरक्षा र माग सम्बोधनको आग्रह गर्दै स्थानीयले र्याली गर्दै आएका छन् । यस्तै नेपाल चिकित्सक संघले आमरण अनशनरत डा केसीको माग पूरा गर्ने वातावरण बनाउन सरकारलाई आग्रह गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४