आइतबार, साउन १७, २०८३

शिक्षक नियुक्ति र सरुवामा आफूखुसी नगर्न स्थानीय तहलाई केन्द्रको निर्देशन

शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्ति र सरुवामा आफूखुसी नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ।
 |  सोमबार, साउन ३२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन ३२, २०७८

काठमाडौं – शिक्षा तथा मानवस्रोत विकास केन्द्रले शिक्षक नियुक्ति र सरुवामा आफूखुसी नगर्न स्थानीय तहलाई निर्देशन दिएको छ। पालिकाहरूले शिक्षक नियुक्ति तथा सरुवा गर्न थालेको गुनासो केन्द्रमा आएपछि यस्तो निर्देशन जारी गरिएको हो। केन्द्रले शिक्षा ऐन र नियमावलीअनुसार शिक्षक नियुक्ति र सरुवाको अधिकार एकाइमा रहेको भन्दै यस्ता गतिविधि तत्काल रोक्न भनेको छ। 

केन्द्रको शिक्षक व्यवस्थापन समन्वय शाखाका निर्देशक वसन्तप्रसाद कोइरालाले अन्तरपालिका र जिल्लान्तर सरुवा गर्न कानुनी रुपमा पालिकाको अधिकार नभएकाले यस्तो निर्देशन दिनुपरेको बताए। उनले भने, ‘कानुनतः शिक्षक सरुवा गर्ने अघिकार स्थानीय तहलाई छैन। निर्देशनपछि पनि सरुवा भएमा त्यसले मान्यता पाउँदैन।’

केन्द्रले अस्थायी शिक्षक नियुक्ति गर्दा नियुक्ति प्रक्रियाका सम्बन्धमा शिक्षा नियमावली नियम ९६ क र ९७ मा स्पष्ट व्यवस्था भएको र शिक्षक सरुवा गर्ने अधिकार शिक्षा नियमावलीको नियम ९९ बमोजिम जिल्ला शिक्षा अधिकारी (हाल शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख) ले गर्ने व्यवस्था रहेको स्मरण गराएको छ। 

साथै स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा पनि स्थानीय तहको आधारभूत तथा माध्यमिक शिक्षा सम्बन्धी काम कर्तव्य र अधिकारमा समेत शिक्षक सरुवा सम्बन्धी व्यवस्था स्थानीय तहले गर्ने व्यवस्था नभएको हुँदा शिक्षक सरुवा तथा अस्थायी शिक्षक नियुक्तिको व्यवस्थाका लागि एकाइसँग समन्वय र सहकार्य गर्न केन्द्रले निर्देशन दिएको हो।

विद्यालय र पालिकाको सहमतिपछि एकाइले शिक्षक सरुवा गर्न पाउने व्यवस्था भए पनि पालिकाले समेत शिक्षक सरुवा गरेको पाइएको छ।

प्रकाशित: Aug 16, 2021| 12:11 सोमबार, साउन ३२, २०७८
प्रतिक्रिया दिनुहोस्