सिराहा- सुन तस्करीमा वडाअध्यक्ष नै संलग्न रहेको भेटिएको छ ।
सिरहाको गोलबजार– ९ धुर्मीखोलानजिकबाट तस्करीको पौने दुई किलो सुनसँगै प्रहरीले लहान नगरपालिका– १९ का वडाध्यक्ष मोहम्मद हकिमलाई पक्राउ गरेको हो । उनीसहित सप्तरीका मोहम्मद अफरोज र मोहम्मद रहमान पक्राउ परेका छन् । उनीहरूको फोटोसमेत सार्वजनिक गरिएको छ ।
तर, सुरुमा प्रहरीले सुन, ६ वटा मोबाइल र साढे ३४ हजारसहित गाडीचालक मोहम्मद रियाज राइन, मोहम्मद अमिरुल खान र मोहम्मद कैयुम राइनलाई मात्रै सार्वजनिक गरेको थियो । तर, अमिरुल खानले अन्य तीनजना पनि पक्राउ परेको पत्रकारमाझ बताएपछि प्रहरी अप्ठ्यारोमा परेको थियो ।
पत्रकारले थप बुझ्न खोज्दा एक–दुई घन्टापछि आउनुस् भन्दै एसपी सोपप्रसाद गुरुङले सम्मेलन सक्काएका थिए। प्रहरीले नै सुरुमा वडाअध्यक्षलाई जोगाउने प्रयत्न गरेको थियो । तर, पत्रकारले प्रश्न सोधेर अप्ठेरो पारेपछि वडाअध्यक्षलाई पनि सार्वजनिक गरिएको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४