मंगलबार, साउन १९, २०८३

रामपुरमा पहिलोपटक मुरली मकै सिफारिसको तयारी

 |  बुधबार, चैत १३, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत १३, २०८१

चितवन- राष्ट्रिय मकैबाली अनुसन्धान कार्यक्रम रामपुरले पहिलोपटक मुरली मकै सिफारिसको तयारी गरेको छ। भीमनगर लोकल मुरली मकै सिफारिसको तयारी गरिएको कार्यक्रमका प्राविधिक अधिकृत प्रज्ञ पोखरेलले जानकारी दिए।

उनका अनुसार विगत ६ वर्षदेखि मुलुकका विभिन्न क्षेत्रमा परीक्षण गरिँदै आइएको यो मकै सिफारिसको तयारी गरिएको हो। कार्यक्रमले विभिन्न २८ जातका मुरली मकैको परीक्षण गरिरहेको भए पनि ९६ प्रतिशत फुला उठ्ने यो मकै पहिलोपटक सिफारिसको तयारी गरिएको उनले बताए। उनका अनुसार यो मकै हाल चितवनको माडी र पर्साको जीतपुरमा दुई वर्षदेखि परीक्षण गरिएको छ।

त्यसैगरी कृषि अनुसन्धान निर्देशनालय खजुरा, जुटबाली अनुसन्धान कार्यक्रम इटहरीमा पनि यसको परीक्षण भइरहेको उनले बताए। अहिले कुन ठाउँमा कति उत्पादन दिन्छ भन्ने परीक्षण भइरहेको र ठाउँ सुहाउँदो भएपछि आगामी वर्षभित्र सिफारिस गरिने उनको भनाइ छ।

कार्यक्रमका संयोजक तीर्थराज रिजालले नेपालमै पहिलोपटक स्थानीय जातको सिफारिस गर्ने तयारी गरिएको बताए। उनले भने, 'नेपालमा मुरली मकै अहिलेसम्म सिफारिस गरिएको छैन। यस वर्षको नतिजा आएसँगै सिफारिसको प्रक्रियामा अघि बढ्छौँ।'

अहिले नेपालमा मुरली मकैको बीउ विदेशबाट आयात हुने गरेको उनले बताए। नेपाली जातको भीमनगर लोकल मुरली मकैमा रोग सहन सक्ने क्षमता, उत्पादन धेरै हुने रिजालको भनाइ छ। उनका अनुसार कार्यालयले गुलियो मकै र मुरली मकैको अनुसन्धान गरिरहेको छ।

आगामी वर्ष यस मकैको प्रतिवेदन बीउबिजन नियन्त्रण तथा गुणस्तर केन्द्र हरिहर भवनमा प्रस्तावना पेस गर्ने गरी काम भइरहेको छ। हाल परीक्षणका क्रममा रहेका २८ जातका मकैमध्ये १० जातका मुरली मकै उत्कृष्ट रहेको छ।

कार्यालयले नेपालभर स्थानीय रुपमा लगाइँदै आएका मुरली मकैको बीउ संकलन गरी परीक्षण र अनुसन्धान सुरु गरेको हो। अहिले नेपालमा व्यावसायिक रुपमा मुरली मकैखेती गर्ने किसानले आयातित बीउको प्रयोग गरिरहेका छन्। रासस

प्रकाशित: Mar 26, 2025| 18:01 बुधबार, चैत १३, २०८१
प्रतिक्रिया दिनुहोस्