काठमाडौं– राजधानीबाट प्रकाशित आइतबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
कसैले त्रिवको जग्गामा पेट्रोल पम्पदेखि रक्सी भट्टीसम्मको रजाइँ चलेको विषयलाई मुख्य समाचार बनाएका छन् कसैले औषधीको मूल्यमा देखिएको मनपरिलाई प्राथमिकतामा पारेका छन् । कसैले पानीजहाज अझै प्रारम्भिक चरणमा रहेको विषयलाई महत्वका साथ छापेका छन् ।
आजको नागरिक दैनिकले एउटै औषधीको मूल्य अन्तर आठ गुणा बढी शीर्षकमा मुख्य समाचार छापेको छ ।
राज्यले औषधि उत्पादक कम्पनीलाई कच्चा पदार्थ आयात गर्दा शून्य भन्सार र आयकरमा २० प्रतिशत छुट दिँदै आएको छ। तर उपभोक्ताले आयातित औषधिभन्दा स्वदेशमा उत्पादित औषधि महँगोमा किन्नु पर्ने बाध्यता छ । ३४ पैसामा पाइने औषधीको मूल्य ११ रुपैयासम्म लिने गरेको समाचारमा उल्लेख छ ।
यस्तै नागरिकले अतिक्रमणको चपेटामा परेको कालिञ्चोकमा तिब्र रुपमा वन फँडानी भएको विषयलाईलाई प्राथमिकतामा पारेको छ । अनुमतिविना जथाभावि रुख काट्ने क्रमले तिब्रता पाएपछि कालिञ्चोक उजाडीन थालेको छ ।
यस्तै नागरिकले कृषि तथा वन विश्वविद्यालयको पदाधिकारीकै निजी कलेज शीर्षकको खबर पनि पहिलो पृष्ठमा विशेष महत्वका साथ छापेको छ । सरकारी सिध्याउने निजी कलेज पोस्ने गिरोह सक्रिय बनेको समाचारमा उल्लेख छ ।
आजको कान्तिपुर दैनिकले त्रिविको जग्गामा प्राध्यापक र कर्मचारीको रजाइँः पम्पदेखि भट्टीसमेतलाई भाडा शीर्षकमा मुख्य समाचार छापेको छ । नेपाल प्राध्यापक संघ, त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ र कर्मचारी संघले त्रिविको जग्गा आफूखुसी भाडामा लगाइरहेका छन् ।
त्रिभुवन विश्वविद्यायलको जग्गामा त्रिवि कर्मचारी संघले ०८२ सम्म सञ्चालन गर्न दिएको रशकटर पेट्रोल पम्प । मूल सडक सँगैको जग्गामा संघले मासिक ३५ हजार रुपैयाँ (कागजमा) भाडा आउने देखाइएको छ । नेपाल प्राध्यापक संघले मात्रै जग्गाभाडाबाट मासिक २ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्छ । त्यस्तै कर्मचारी संघले १ लाख र त्रिवि प्राध्यापक संघले १ लाख २५ हजार रुपैयाँ असुल्छन् । तर, यो रकम विश्वविद्यालयको खातामा नपुग्ने गरेको समाचारमा उल्लेख छ ।
यस्तै कान्तिपुरले चन्द्रगिरि हिल्स लिमिटेडले केवकार क्षेत्रमा निर्माणधीन विद्युत प्रशारणलाइनलाई भूमिगत गराउन प्रधानमन्त्री केपीशर्मा ओलीमार्फत सम्बद्ध निकायलाई दबाब दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ ।
आजको नयाँ पत्रिकाले भने एमबिबिएस भर्नामा गैरकानुनी शूल्क शीर्षकमा मुख्य समाचार छापेको छ । सरकारले उपत्यकामा ३८ लाख ५० हजार र बाहिर ४२ लाख ४५ हजार तोकेकोमा कलेजहरुले थप १४ लाखसम्म असुल्ने गरेको पाइएको समाचारमा उल्लेख छ ।
आजको कारोबार दैनिकले भने पानीजहाज अझै प्रारम्भिक चरणमा शीर्षकमा मुख्य समाचार छापेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार भारतबाट नारायणी, कोसी, र गण्डकी जोड्ने गरी जलमार्गको सम्भावना प्राविधिक रुपमा रहेपनि यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार नभएको समाचारमा उल्लेख छ ।
यस्तै छोटो दुरीका यात्रु बोक्दै वाडबडी शीर्षकको खबरलाई पनि कारोबारले प्राथमिकताका साथ छापेको छ । छोटो दूरीमा उडाउँदा इन्जिनको साइकल खेर गइएको समाचारमा जनाइएको छ ।
आजको अन्नपूर्णले भने ६ सय ९९ बैंकिङ सेवा पुगेको र भारतमा भाजपाविरुद्ध तालमेल भएको विषयलाई प्राथमिकताका साथ छापेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४