मंगलबार, साउन १९, २०८३

दैनिक दुई सय लिटर दूध बेचेर किसान पुरस्कृत

 |  मंगलबार, चैत १२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १२, २०८१

तनहुँ- यहाँको व्यास नगरपालिका-१३ बेलबासका लेखनाथ बाँस्तोला धेरै दूध उत्पादन गरेबापत पुरस्कृत भएका छन्।

उनले प्रोत्साहनस्वरुप एक लाख ५० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका हुन्। गण्डकी प्रदेशको ‘उत्पादनमा आधारित अनुदान कार्यक्रम’अन्तर्गत पुरस्कार प्राप्त गरेपछि उनले गौरवान्वित महसुस गरेको प्रतिक्रिया दिए।

पाँच वर्ष अघिदेखि कृषि पेसामा लागेका बाँस्तोलाले यातायात व्यवसाय छाडेर व्यावसायिक रूपमा गाईपालन तथा बाख्रापालन गरेका छन्। उनले कोभिड १९ का बेला लामो समयसम्म बन्दाबन्दी (लकडाउन) भएपछि गाउँ फर्किएर पशुपालन सुरु गरेका थिए।

उनका फार्ममा हाल उन्नत प्रजातिका २२ वटा जर्सी तथा होलस्टेन जातका गाई छन्। जसमध्ये १५ लैना गाईबाट दैनिक दुईसय लिटर दूध उत्पादन गरी मासिक चार लाख रूपैयाँको दूध बिक्री गर्ने गरेको बाँस्तोलाले बताए।

गाउँकै बेलबास दुग्ध उत्पादक सहकारीमा दूध बिक्री गरेर खर्च कटाएर मासिक दुई लाख रूपैयाँ बचत हुने गरेको उनले बताए। बाँस्तोलाले भने, 'उत्पादनमा आधारित अनुदानअन्तर्गत पुरस्कार पाएपछि पेशाप्रति गौरव महसुस भएको छ।'

यातायात व्यवसायभन्दा गाईपालनबाट सन्तुष्टि मिलेको बाँस्तोलाको भनाइ छ। बेलबास दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष केशवबहादुर रानाले उहाँ गाउँमा सबैभन्दा धेरै दूध उत्पादन गर्ने किसान भएको बताए।

गाईको साथै बाँस्तोलाले बाख्रापालनबाट पनि आम्दानी गर्दै आएका छन्। उनले ५० वटा बोयर बाख्रा पालेका छन्। गाई र बाख्रा दुवै थप गरेर हालको आम्दानीलाई दोब्बर पार्ने सोच बनाएको बाँस्तोलाले बताए।

सरकारलाई अनुदान दिने प्रक्रिया बदल्नु जरुरी रहेको किसान बाँस्तोलाको सुझाव छ। व्यवसाय गरेको कागज बनाउने, अनुदान लिने र अनुदान पाएपछि पेसा छाड्ने गरेकाले अनुदानको दुरुपयोग भएको बाँस्तोलाको गुनासो छ। रासस
 

प्रकाशित: Mar 25, 2025| 17:01 मंगलबार, चैत १२, २०८१
प्रतिक्रिया दिनुहोस्