मंगलबार, साउन १९, २०८३

चेपाङका घर-घरमा पुग्यो बिजुली

 |  सोमबार, चैत ११, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ११, २०८१

मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडा विद्युतको पहुँचमा पुगेका छन्। चेपाङ बाहुल्य विकट गाउँ राक्सिराङका ९ वटै वडामा नेपाल विद्युत प्राधिकरणले विद्युतको पहुँच पुर्‍याएको हो। 

गाउँपालिकाको पहलमा प्राधिकरणले ‘चेपाङ बिजुली कार्यक्रम’अन्तर्गत विद्युत सेवा पुर्‍याएको छ। सोमबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले राक्सिराङ गाउँपालिका–९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरेका छन्। उनले राक्सिराङ–९ खैराङकी फूलमाया चेपाङको घरको विद्युत्को मिटर पनि ‘अन’ गरेर पूर्ण विद्युतीकरण वडा घोषणा गरेका हुन्।

टुकी र दियालोको उज्यालोमा जीवन व्यतीत गर्दै आएका खैराङलगायत राक्सिराङका दुर्गम बस्तीका ९ वटै वडाका चेपाङलगायत अन्य समुदायको घरमा विद्युत सेवा पुगेको छ। मकवानपुरकै दुर्गम खैराङमा २०७६-७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको थियो।

२०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन्।

कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्‍याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको थियो भने उक्त कार्यमा सघाउ पुर्‍याउने व्यक्तिलाई समेत सम्मान गरिएको थियो।

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले प्राधिकारण बत्ति काट्ने भन्दा उज्यालो पार्ने संस्थाको रुपमा विकास भइरहेको बताए। नेपालको विद्युतले विदेशमा समेत उज्यालो पार्ने काम भइरहेको उनले बताए। घिसिङका अनुसार गरिव विपन्नका साथै सिचाइ, खानेपानीका आयोजनालाई पनि विद्युत महशुलमा सहुलियत दिएको छ।

प्रकाशित: Mar 24, 2025| 19:16 सोमबार, चैत ११, २०८१
प्रतिक्रिया दिनुहोस्