बुधबार, साउन १३, २०८३

‘रेलिगेशन’ बिनाको लिगले घटाएको फुटबल रौनक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- असोज १३ गतेदेखि सुरु भई सहिद स्मारक ‘ए’ डिभिजन लिग पुस २४ गते सम्पन्न भयो । प्रत्येक लिगले देशको फुटबललाई एउटा दिशा प्रदान गर्छ । सँगै नयाँ खेलाडीको पनि उदय हुन्छ । यसपालिको लिगमा त्यसो हुन सकेन । राष्ट्रिय टोलीका मुख्य खेलाडीको प्रदर्शन समेत लिगमा सन्तोषजनक हुन सकेन । 

लिग निर्देशक सञ्जीव मिश्र लिग अपेक्षा गरिएको जस्तो नभए पनि ‘मामा नहुनुभन्दा कानो मामा नै ठीक’ भनेर खेलाडीले चित्त बुझाएको बताउछन् । ‘कम्तीमा खेलाडी तीन महीना व्यस्त भए । घरेलु फुटबलमा चहलपहल भयो । तर यतिमै चित्त बुझाएर बस्ने अवस्था छैन ।’

विभागीय टोली र केही शीर्ष स्थानका क्लबबाहेक अरुलाई लिगका लागि टिम तयार गर्न खेलाडीको सङ्कट परेको थियो । यही अभावले गर्दा थुप्रै स्थानीयस्तरका खेलाडीले पनि मौका पाए । उनीहरुको प्रदर्शनले भने कसैको ध्यान तान्न सकेन ।

‘रेलिगेसन नगर्ने एन्फाको नीतिले कमजोर क्लबलाई फाइदा पुग्यो । प्रतियोगिताको रोमाञ्चकता भने ह्वात्तै घटायो,’ राष्ट्रिय टोलीका कप्तान विराज भहर्जनले भने । 

मनाङको कीर्तिमानी उपाधि 

मनाङ क्लबले नेपालको घरेलु फुटबलमा उत्कृष्ट प्रदर्शन गर्दै थुप्रै उपाधि जितिसकेको छ । ‘ए’ डिभिजन लिगमा पनि यसले कीर्तिमानी उपाधि जित्न सफल भयो । मनाङले यसअघि २०४३, २०४४, २०४६, २०५७, २०६०, २०६२ र २०७० सालमा ‘ए’ डिभिजन लिग फुटबलको उपाधि उचालेको थियो । यो आठौँ पटक हो । 

मनाङलाई यसपटक कीर्तिमानी जित दिलाउन खेलाडीको त मुख्य भूमिका छ नै तर नाइजेरियन प्रशिक्षक टोपे फुजाको पनि उत्तिकै योगदान छ । मनाङले फुजालाई लिगकै लागि भनेर करीब डेढ महीनाअघि मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो । 

श्रम स्वीकृति नभएकाले उनले औपचारिकरुपमा प्रशिक्षकको जिम्मेवारी लिन पाएनन् । खेलाडीलाई उनले नै प्रशिक्षण दिएका थिए । 

सङ्कटाको उदय 

सङ्कटा क्लब यसपालि अनपेक्षितरुपमा उत्कृष्ट प्रदर्शन गर्दै लिगको उपविजेता बन्न सफल भयो । प्रतियोगिता शुरु हुनुपूर्व निकै कमजोर मानिएको सङ्कटाले एकपछि अर्को खेलमा जित हात पार्दै सबैको ध्यानाकर्षण गराएको थियो । विसं २०४२ मा लिगको उपाधि जितेयता सङ्कटाको प्रदर्शन सन्तोषजनक थिएन । उसलाई लिगको उपविजतो बन्न ३३ वर्ष लग्यो ।
 
विभागीय टोलीको कमजोर प्रदर्शन 

आर्मी, पुलिस र एपिएफ क्लब लिग शुरु हुनुभन्दा पहिले उपाधिको होडमा थिए । विभागीय टोलीमा नियमित प्रशिक्षण अनि त्यहीअनुसारको सेवा-सुविधा र खेल मैदान हुने भएकाले चार वर्षपछि भएको लिगमा उनीहरुले फाइदा उठाउने सबैको अपेक्षा थियो । 

उनीहरुको प्रदर्शन सन्तोषजनक रहेन । लिगमा विभागीय टोली आर्मी, एपिएफ र पुलिस क्रमश चौथो, पाँचौँ र छैटौँ स्थानमा रहँदै लिगबाट बिदा भए । लिगमा आर्मीका कप्तान भरत खवासले सात गोल गरे । 

नाम चलेका खेलाडीको कमजोर प्रदर्शन 

क्लबमा नाम चलेका धेरै खेलाडीको प्रदर्शन लिगमा सन्तोषजनक रहेन । विशेषगरी नेपाली टोलीको फरवार्ड लाइन निकै फितलो देखियो । तेह्र खेल खेल्दा उच्च स्कोर सात मात्र हुनु यसैको नतिजा हो ।

सात गोल गर्ने खेलाडीमा मनाङका नाइजेरियन खेलाडी अफिज ओलावाले, आर्मीका कप्तान भरत खवास र थ्रीस्टारका डिफेन्डर रञ्जित धिमाल रहे । मनाङका कप्तान विराज महर्जन यसपटक सबैको खेल उस्तै रहेको र विशेष गरी स्ट्राइकरको प्रदर्शन निकै खस्किएको बताउनुहुन्छ । 

भविष्यका लागि आशा जगाउने खालका युवा खेलाडी आर्मीका नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र च्यासलका विमल घर्तीमगरलगायतको खेल सन्तोषजनक रहेन । 

एनआरटी र मछिन्द्रलाई ऋण अङ्क 

लिगमा मछिन्द्र क्लब र न्युरोड टीम (एनआरटी)ले ऋण अङ्क बोेकेका छन् । लिग तालिकाको पुछारमा रहँदै दुवै टोलीले ऋण अङ्क बोकेका हुन् । एन्फाले यस पटक लिगमा रेलिगेशनको व्यवस्था गरेको थिएन । लिगको अन्तिम दुईमा रहने टोलीलाई ऋण अङ्ककको व्यवस्था गरिएको थियो । 

एन्फाका अनुसार तालिकाको पुछारको टोलीले दुई अङ्क र पुछारबाट दोस्रो हुने टोलीले एक अङ्क ऋण बोकेको छ । एन्फाले पुछारका तीन टिमलाई ऋण अङ्क बोकाउने निर्णय गरे पनि अन्तिम समयमा आएर दुई टोलीको मात्र अङ्क घटाउने निर्णय गरेको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।