यौन (सेक्स) मा सही साहित्य लेखिएकै छैन। जीवनको दर्शनलाई यौनिकताले पूरा गरेको इतिहास थाहा हुँदाहुँदै पनि हामी यौनको सस्तो व्याख्या गरिरहेका छौँ। अरूले बुझ्ने गरेको अश्लीलतालाई मैले यौन भन्ने गरेकी छैन।
अनुपम रोशी नेपाली साहित्यमा परिचित नाम हो। कुमारी आमा, नाङ्गो मान्छे, कालो छाया र मध्यान्तरजस्ता औपन्यासिक कृतिका स्रष्टा रोशी जैविक स्वतन्त्रता र यौन मनोविज्ञानमा केन्द्रित रहेर साहित्य सिर्जना गर्छिन्। यौन मनोविज्ञानका विषयमा खुलेर लेख्न सक्ने महिला लेखकका रुपमा उनको पहिचान छ। रोशीले मध्यान्तर बजारमा ल्याएको एक वर्ष पुग्यो। यौन (सेक्स) विषयमा केन्द्रित रहेर रोशीसँग नेपाल समयका लागि
यज्ञराज जोशीले गरेको साहित्य संवाद :
अहिले केमा व्यस्त हुनुहुन्छ?
एउटा उपन्यास लेखिरहेकी छु। अरू केही व्यस्ताता पनि थपिएको छ।
यहाँको आगामी पुस्तक पाठकले कहिले पाउनेछन्?
त्यस्तो योजना त बनेको छैन। तर सकेसम्म छिट्टै ल्याउनेछु।
जैविक स्वतन्त्रता र यौन मनोविज्ञानलाई कथाको विषयवस्तु बनाउनुको कारण?
यो संसारको सृष्टि नै जीवन हो। मलाई जीवनका रहस्य खोजी गर्न मन पर्छ।
यौनलाई विषयवस्तु बनाउँदा कथा विक्छ भन्ने मनोविज्ञान पनि छ, यसमा तपाईं कत्तिको सहमत हुनुहुन्छ?
सहमत छैन। यौनमात्र साहित्य लेखनको विषयवस्तु बन्दैन। यौनसँगै जीवन र समाज जोडिएको छ। सत्य जीवनको दर्शनमा यौन स्वाभाविक र प्राकृतिक रूपले समावेश छ।
समाजमा थुप्रै विषयवस्तु लेख्न बाँकी नै छन् तर यौनमा लेख्नेको जमात ठूलै देखिन्छ। तपाईंलाई यसको कारण के हो जस्तो लाग्छ?
खासमा यौनमा सही साहित्य लेखिएकै छैन। जीवनको दर्शनलाई यौनिकताले पूरा गरेको इतिहास थाहा हुँदाहुँदै पनि हामी यौनको सस्तो व्याख्या गरिरहेका छौँ। अरूले बुझ्ने गरेको अश्लीलतालाई मैले यौन भन्ने गरेकी छैन। मेरो विचारमा जीवनको दर्शनलाई बुभ्mने मानिसले नै समाजका सबै विषय सजिलै बुझ्न सक्छन्।
यहाँका कुमारी आमा, नाङ्गो मान्छे, कालो छाया र मध्यान्तरले कुनै न कुनै ढंगबाट महिलाकै अस्तित्वलाई केन्द्रमा राखेको पाइन्छ? यहाँलाई नारीवादी लेखक भन्दा न्याय हुन्छ?
हो म महिला भएरै जन्मिएकाले मभित्र महिलाले नै भोगेको अनुभव छ। महिला भएरै बुझेको समाज छ। ज्ञान र प्रस्तुति पनि महिला भएरै आउनु स्वाभाविक हो। यति हुदाँहुदै पनि मैले मात्रै महिलाको अस्तित्वको कुरा गरेकी छैन। यो सिंगो समाज र मानवीयतामाथि मेरो रुचि छ।
पुरुष पनि पीडित हुन्छन्, ती विषयलाई तपाईंले कत्ति गहन लिनुभएको छ?
पक्कै पनि ठ्याक्कै महिलाकै जस्तो पीडा नभए पनि समाजमा विभिन्नखाले पीडाबाट गुज्रिने पुरुष छन्। तिनीहरुप्रति मेरो गहिरो संवेदना छ। मानिस भएर जन्मिएपछि सबैको अस्तित्व स्वतन्त्र हुनुपर्ने मेरो बुझाइ छ।
नेपाली समाजमा एक महिलाले यौनलाई केन्द्रमा राखेर लेख्न सहज छैन। साहस जुटाउनैपर्छ, समाजप्रतिको तपाईंको बुझाइ कस्तो छ?
त्यो त हो। पहिलो त यौनलाई अश्लीलता बुझ्ने र व्याख्या गर्नेहरूमा मानसिक कुरुपता छ। दोस्रो महिलाको जीवनलाई यौनकै पुञ्जका रूपमा हेर्ने सोचका डल्लाहरु हरेक चोक र गल्लीमा भेटिन्छन्। यस्तो अवस्थामा जस्तो विषयमा लेखे पनि यौनमै लगेर टुंग्याइने दिने गरिन्छ। सस्तो विज्ञापन अथवा आलोचना गर्नेे मानिस हामीकहाँ प्रशस्त छन्।
अझै हाम्रो समाज संकीर्णताभित्र रुमलिरहेको छ?
केही हदसम्म यो सही छ भने थुप्रै परिवर्तन पनि भएका छन्। ठ्याक्कै यही मात्रै हो भन्न सक्ने अवस्था छैन। समय र विकासका आधारमा त्यो समाजको सोच पनि फरकफरक छ।
तपाईं त थुप्रै देश पनि पुग्नुभएको छ। नेपालका पाठक र अन्य देशका पाठकको मनोविज्ञान कस्तो पाउनुभएको छ?
त्यो त हरेक देशको सामाजिक सभ्यता र अभ्यासअनुसार फरक पर्ने कुरा हो। हाम्रो समाज अझै पनि रोग र भोकसँगको संघर्षकै चरणमा छ। हाम्रो साहित्य हाम्रै समाजले उत्पादन गरेको सुन्दर चेतना हो। जसको वैज्ञानिक आधार कमजोर छ भन्न मिल्दैन तर बुझाइ र प्रस्तुति भिन्न छ। स्वतन्त्रताका आधारमा विदेशी लेखक र पाठक दुवै हामीभन्दा स्वतन्त्र छन् जस्तो लाग्छ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ?
सस्तो विज्ञापन र आलोचना मात्र निकास होइन। कम्तीमा गम्भीर पाठकले यसलाई छुट्याएर समाजको अध्ययन गरोस् भन्ने मेरो अनुरोध हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४