काठमाडौं- पाटनकी कुमारी चनिरा बज्राचार्यले २०६६ सालको प्रवेशिमा परीक्षा दिएको समाचारलाई धेरै सञ्चारमाध्यमले प्रथामिकता दिए। जीवित देवी कुमारी पहिलोपटक प्रवेशिकामा सहभागी भएको विषयले त्यतिबेला चर्चा पाएको थियो। उनले ललितपुरको भास्सरा माविबाट परीक्षा दिएकी थिइन्।
कुमारीले पढ्नु हुँदैन भने मान्यताविपरीत उनले एसएलसी दिएपछि त्यो समाचार फैलिएको थियो। चनिराभन्दा अघिल्ली कुमारी सुमिका बज्राचार्यले पनि औपचारिक रूपमा पढ्न पाएकी थिइन्। तर यो कुरा मिडियामा आएन। उनीअघिका कुमारीलाई सामाजिक एवम् सांस्कृतिक रूपमा पढ्ने वातावरण सहज थिएन।
त्यसैले पनि सुमिकाको पढाइबारे त्यति चर्चा हुन पाएन। चनिरासम्म आइपुग्दा कुमारीलाई पढ्न सहज हुन थालिसकेको थियो। चनिराले एसएलसी परीक्षा दिएको विषय मिडियामा आएपछि निजी स्कुलहरू कुमारीलाई खोजीखोजी निःशुल्क पढाउन थाले। ‘खुसी लाग्छ, मैले एसएलसी दिएको समाचार फैलिएपछि शैक्षिक संस्थाहरूले पनि चासो दिन थाले। मपछिका कुमारीहरूले सहज रूपमा पढ्न पाउनुभयो’, चनिराले भनिन्।

संस्कृतिविद् सत्यमोहन जोशीका अनुसार कुमारीमा निर्दोषपन र भावशून्य हुनुपर्छ। जोशीले भने, ‘उनलाई धर्म, पाप, माया, तिरस्कारबारे केही ज्ञात हुनु हुन्न, कारण उनी दैवीशक्तिको प्रतीक हुन्। किताब पढाउन थालेपछि धर्म, पाप, माया र घृणाका कुरा आउँछन्।’ बाहिरी ज्ञान दिलाएमा उनीहरूमा रहेको निर्दोषपनमा खोट लाग्न सक्ने जोशीले बताए। त्यसैले कुमारीको मन खल्बलाउन नहुने परम्परा रहेको उनको भनाइ छ। उनले भने, ‘कुमारीलाई सधैंका निम्ति कुमारी बनाउने होइन, कुमारीबाट अवकाश पाएपछि उनलाई जति पढ्न पनि छुट छ।’
समितालाई सेन्ट जेभियर्स स्कुलले निःशुल्क पढाएको छ। उनीपछिकी कुमारी युनिकालाई भास्सरा स्कुलले पढाएको छ भने वर्तमान कुमारी निहिरा होराइजन इङ्लिस स्कुलमा अध्ययनरत छिन्।
सजिलो छैन अभिभावकलाई
चनिरा कुमारी भएपछि उनका मातापिता निकै खुसी भए। तर छोरीको जति मानसम्मान बढेको थियो, अभिभावकमा त्यति नै जिम्मेवारी थपिएको थियो। कुमारी हुनुअघि छोरी आफै विद्यालय जान्थिन्। कुमारी भएपछि छोरीलाई घरमै आएर कसले पढाइदेला भन्ने चिन्ता थियो उनका मातापितालाई।
गुठीबाट मासिक प्राप्त हुने १५ सय रुपैयाँ उनको पढाइ शुल्क तिर्न पर्याप्त थिएन। गुठी संस्थानले कुमारीको पढाइका लागि कुनै चासो नदिएपछि चनिरालाई पढाउन उनकी आमाले निकै संघर्ष गर्नुपर्यो। कक्षा सातसम्म चनिराकाे पढाइकाे लागि मासिक चार हजार रकम उनकाे परिवारले बेहाेर्ने गरेकाे थियाे भने कक्षा आठदेखि दशसम्म मासिक छ हजार रकम शिक्षकलार्इ उपलब्ध गराउने गरेकाे थियाे। चनिराले भनिन्, ‘शिक्षकलाई तलब दिन आमालाई निकै समस्या भयो।

चनिराले एसएलसीपछि कक्षा १२ सम्म डिएभी स्कुलमा निःशुल्क पढिन्। उनले त्यसपछि बिबिए पनि निशुल्क रुपमा काठमाडौं स्कुल युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्टमा पढेकी हुन्। उनी अहिले पनि साेही बिश्व विद्यालयबाट एमबिएको तयारीमा छिन्। त्यसपछि आठ वर्ष आफूलाई कुमारी हुँदा पढाएको भास्सरा स्कुलमा केही वर्ष काम काम गरिन्।
कुमारीबाट अवकाश हुँदा
पाँच वर्षको उमेरमा २०५७ चैत २६ गते कुमारी छानिएकी चनिरा १५ वर्षको उमेरमा २०६७ असोज १२ गते कुमारीबाट अवकाश पाइन्। कुमारी घरबाट बाहिरिएपछि उनको पहिरन र शृंगार सबै परिवर्तन भयो। उनले भनिन्, ‘म सामान्य किशोरीजस्तै भएकी थिएँ।’ १० वर्षपछि निस्कँदा उनलाई बाहिरी संसार अनौठोजस्तो लागेको यियो। सुरुसुरुमा केही समय घरबाहिर निस्कन पनि केही कठिन भयो उनलाई। १० वर्षको अवधिमा उनी १६ दिन मात्र बाहिर निस्कन पाएकी थिइन्। त्यसमा पनि कुमारीको पाउले जमिन छुन हुँदैन भन्ने मान्यताका कारण उनलाई बोकेरै बाहिरभित्र गरिन्थ्यो।
रजस्वला हुनेबित्तिकै कुमारी पदबाट अवकाश हुनुपर्छ। शारीरिक एवम् मानसिक विकाससँगै छोरीहरू किशोरी भएपछि विभिन्न परिवर्तन देखा पर्नु स्वाभाविकै हो। अनि वर्षौंदेखि पाउँदै आएको मानसम्मान एकैपटक हराउँदा खिन्नता हुन्छ नै। कुमारीको जीवनमा यी सबै कुरा एकैपटक आइपर्छन्। चनिराले भनिन्, ‘किशोरावस्था प्रवेश गरेसँगै बाआमालाई मलाई निकै परामर्श गर्नुभएको थियो। रजस्वलापछि कुमारी पदबाट हट्नुपर्ने अवस्थाबारे सम्झाइबुझाइ गर्नुभएको थियो।’
त्यसैले कुमारीबाट अवकाश पाएपछि आफूलाई अनुकूलन गर्न सहज भएको उनले बताइन्। उनले भनिन्, ‘कुमारी हुँदा दसैंमा म आफैंले घरका सबैलाई टीका लगाइदिन्थें। कुमारीबाट हटेपछि त्यो अधिकार मसँग रहेन।’ बाआमाले असहज नहोस् भनेर कुमारी पदबाट अवकाश भएपछि पनि टीका लगाइदेऊ भन्नुहुन्थ्यो। बुझ्दै गएपछि यसलाई छोडेको उनले बताइन्।
मिडियासँग गुनासो
नेपाली मात्र हैन, विदेशी सञ्चारमाध्यम पनि कुमारीको तस्बिर खिच्न र समाचार बनाउन निकै चासो दिन्छन्। केही मिडियाले त सकारत्मक कुरा बाहिर ल्याउने गर्छन्। तर केही मिडियाले भने व्यक्तिगत कुरालाई प्राथमिकता दिएर बाहिर ल्याउँदा समाजामा नकारात्मक सन्देश जाने गुनासो उनको छ। उनी कुमारी हुँदा एक पटकको एउटा विदेशी मिडिया डकुमेन्ट्री (वृत्तचित्र) बनाउन भन्दै आए।
उनी र विदेशी टोलीबीच रेस्टुराँमा भेटघाटको व्यवस्था मिलाइएको थियो। टेबुलमा कुखुराकाे मासु मिश्रित खाना आयो। सानैदेखि कुखुरा र सुगरकाे मासु नखाएकी (रागाे र हासकाे मासु खान मिल्ने) उनले त्यसलाई फ्याँकिदिइन्। तर चनिराको त्यही गतिविधिलाई क्यामरामा कैद गर्न विदेशी मिडियाले योजना बनाएको कुरा उनलाई पछि मात्र थाहा भयो। नेपाली मिडियाले पनि कुमारीका विषयमा विस्तृत बुझ्दै नबुझी लेख्ने गरेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘त्यसैले मिडियासँग बोल्नै मन लाग्दैन।’
बालिकालाई कुमारी बनाएर उनीहरूको बालअधिकार हनन गरिएको आरोपप्रति उनको विमति छ। उनले भनिन्, ‘कुमारीलाई सुविधा र मानसम्मानसाथ राखिन्छ। उनीहरूलाई कैदीजस्तो व्यवहार त गरिँदैन नि !’ १० वर्षे कुमारी जीवनलाई उनले ठूलो मौकाका रूपमा लिएकी छन्। उनी भन्छिन्, ‘अर्को जन्म हुन्छ वा हुँदैन तर, एउटै जन्ममा दुईथरी जीवनको अनुभव गर्न पाएकोमा खुसी छु।’