मंगलबार, फागुन १९, २०८२

बैतडीमा बढे भाइरल ज्वरोका बिरामी 

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

बैतडी- मौसम परिवर्तनसँगै बैतडीका गाउँगाउँमा भाइरल ज्वरोका बिरामी बढेका छन्। त्यहाँका अस्पताल तथा स्वास्थ्य संस्थामा आउने बिरामीमध्ये अधिकांश भाइरल ज्वरोका रहेको स्वास्थ्यकर्मीले बताएका छन्।

सदरमुकामस्थित जिल्ला अस्पतालमा मात्रै दैनिक ५० जनाभन्दा बढी भाइरल ज्वरोका बिरामी आउने गरेको अस्पतालका सूचना अधिकारी हरिश पन्तले बताए। उनका अनुसार दैनिक एक सय ५० जनाभन्दा बढी बिरामी आउने गरेकामा ५०–८० जनासम्म भाइरल ज्वरोका रहेका छन्। 

अस्पतालमा दैनिक आउने बिरामीमध्ये अधिकांशमा भाइरल ज्वरो देखिन थालेको छ। मौसम परिवर्तनका कारण हावाहुरी, धुलोधुवाँले गर्दा पनि सङ्क्रमण बढेको हुनसक्ने सूचना अधिकारी पन्तले बताए।

जिल्लाका अन्य स्वास्थ्य संस्थामा उपचारका लागि आउने भाइरल ज्वरोका बिरामीको चाप बढ्न थालेको बताउँदै श्रीकोट स्वास्थ्य चौकीका इन्चार्ज वीरसिंह भाटले मौसम परिवर्तनले गर्दा गाउँघरमा भाइरल सङ्क्रमणका बिरामी बढेका उल्लेख गरे। अन्य समयको तुलनामा हिजोआज भाइरल ज्वरोका बिरामी बढेका हुन्। 

मौसम परिवर्तनसँगै अस्वस्थकर खाना र प्रदूषित पानीका कारण भाइरल ज्वरोको सङ्क्रमण बढेको जिल्ला अस्पताल बैतडीका प्रमुख डा सुशील विकले जानकारी दिए। ज्वरोसँगै अन्य सङ्क्रमण पनि हुनसक्ने भएकाले जतिसक्दो छिटो जाँच गराउन र आफूखुशी मेडिकलबाट औषधि किनेर नखान स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन्। 

kumari

जथाभावी औषधिको प्रयोग गर्दा स्वास्थ्यमा अन्य समस्या आउनसक्ने भएकाले स्वास्थ्य संस्थामा जाँच गराएर मात्रै सेवन गर्नुपर्ने, भाइरल ज्वरोसहित रुघा, खोकीलगायत सङ्क्रमणबाट बच्न शुद्धीकरण गरिएको पानी प्रयोग गर्नुपर्नेमा स्वास्थ्यकर्मीले जोड दिएका छन्।

प्रकाशित: Mar 19, 2025| 15:25 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्