काठमाडौं- नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले २५ करोडबराबरको अवैध विदेशी मुद्रा बरामद प्रकरणमा मुख्य दोषीसम्म पुग्ने गरी अनुसन्धान गर्न माग गरेका छन्।
उनले विभिन्न प्रकरणमा ड्राइभर र भरिया पक्रने अनि मालिकसम्म नपुग्ने प्रवृत्ति देखिएको भन्दै मुख्य नाइकेसम्म पुगेर कारवाही गर्नुपर्नेमा जोड दिए। आज प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खतिवडाले सरकारले केही गर्न सक्दैन भन्ने गलत भाष्य चिर्न उक्त घटनाका मुख्य दोषी पत्ता लगाई तस्करी र भ्रष्टाचारी तह लगाउन सरकार तयार छ भन्ने सन्देश दिनुपर्ने बताए।
'नेपाल सरकारले हिजो अवैध रुपमा सिन्धुपाल्चोकका कुसान लामा ड्राइभरले हाँकेको एउटा ट्रकबाट २५ करोड नेपाली रुपैयाँ युरो र डलर गरेर समात्न सफल भएकोमा सरकारलाई धन्यवाद दिन चाहन्छु। कहिले सुन तस्करीका रुपमा त कहिले डलर तस्करीका रुपमा प्रयोग हुने ड्राइभर र भरियाहरूलाई समाउने। जो धनी छ उनीहरू कहाँ नपुग्ने। यो प्रवृत्तिलाई अन्त्य गर्न सरकारसँग माग गर्दछु। कहिले १८ किलो सुन, कहिले ३३ किलो सुनका नाममा यसैगरी विभिन्न भरिया र ड्राइभरलाई पक्रिने र मालिकसँग नपुग्ने प्रवृत्ति हिजोका दिनमा देखिएको थियो। अहिले पनि सरकार त्यसैगरी गहिरो अनुसन्धानसम्म नपुगेर यिनै ड्राइभर र भरियालाई समातेर मुख्य व्यक्तिलाई समात्न नसके फेरि आँखामा छारो हालजस्तो देखिन पुग्छ। यसैले सरकार यस्ता तस्करीका नाइकेहरूसँग पुगोस् जुन तहको भए पनि कारवाहीको दायरामा ल्याओस्,' उनले भने।
सांसद रोशन कार्कीले टोखामा ठूलो मात्रामा अवैध विदेशी मुद्रा बरामद भएको भन्दै नेपाल तस्करहरूको ट्रान्जिट प्वाइन्ट बनेको हो ? भन्दै प्रश्न गरिन्। भ्रष्टाचारमा नेपालले नयाँ नयाँ कीर्तिमान कायम गरेको उनले टिप्पणी गरिन्। उनले जनताको सहनशिलतामा धेरै परीक्षा लिइराखे सरकारलाई अप्ठेरो पर्ने चेतावनी समेत दिइन्।
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले काठमाडौंको टोखाबाट २५ करोड रूपैयाँ बरामद भएको घटनामा छानबिन समिति बनाउन माग गरे।
सांसद सापकोटाले उपल्लो तहको कनेक्सन नभई त्यति ठूलो मात्राको तस्करी हुन नसक्ने दाबी गर्दै छानबिन समिति गठनको माग गरेका हुन्।
'यति ठूलो मात्राको तस्करी उपल्लो तहको कनेक्सन नभई सम्भव छैन। त्यसकारण समिति बनाएर छानबिन र अनुसन्धान गर्न माग गर्छौं,' उनले भने।
सांसद सापकोटाले सुशासनप्रति प्रतिबद्ध नभएकाले सरकारप्रति नै आशंका भएकाले विशेष समिति बनाएर छानबिन गरिनुपर्ने बताए।
'यो घटनाले संगठित अपराध र तस्करीको जालो कुन स्तरमा संगठित भएर झाँगिइरहेको छ भनेर एउटा चित्र बाहिर आएको छ। यसमा संलग्न ड्राइभर र भरियाहरू मात्रै पर्छन्। केही समय ठूलो समाचार बन्छ र निश्चित समयपछि यो ढिसमिस हुन्छ, उनले भने, 'त्यसैले समिति बनाएर छानबिन हुनुपर्छ।'
सापकोटाले राजस्व अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत भएकाले पनि घटनाको सम्बन्धमा विशेष संसदीय छानबिन समिति गठन गर्नुपर्ने बताए।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले २५ करोड अवैध रकम कुनै भरियाको नहुने भन्दै सरकारलाई मालिक समात्न चुनौती दिए। विगतदेखि नै सरकारले भरिया मात्रै समात्दै आइरहेको उनले बताए।
उनले भने, ‘यो सुन तस्करको पैसा हो। अहिले सबै तस्करीहरू बढेका छन्। जहिले पनि किलोका किलो सुन समातिन्छ। तर मालिक समातिँदैन। छानबिन समितिको रिपोर्ट बन्छ सरकारले त्यसलाई तालाचाबी लगाएर आफैंसँग राख्छ सार्वजनिक गर्दैन।’
उनले सुन प्रकरणका छानबिन समितिको प्रतिवेदनहरू सदनमा पेस गर्न माग गरे।
मंगलबार प्रहरीले काठमाडौंको टोखाबाट करिब २५ करोडबराबरको विदेशी मुद्रासहित एक जनालाई पक्राउ गरेको थियो। उनलाई राजस्व अनुसन्धान विभागको जिम्मा लगाइएको छ।