मंगलबार, पुस ८, २०८२

कटहरका रुख धमाधम सुकेपछि काभ्रेका किसान चिन्तित

 |  बुधबार, चैत ६, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, चैत ६, २०८१

काभ्रेपलाञ्चोक- मण्डन-देउपुर नगरपालिकामा कटहरका रुख सुक्न थालेपछि किसान चिन्तित भएका छन्। कटहरका लागि परिचित मण्डन क्षेत्रमा कटहरका रुख सुक्न थालेपछि किसानको आम्दानीमा असर परेको छ। 

National life

चार वर्षदेखि कटहरका बोट सुक्न थालेको यहाँका किसानको भनाइ छ। यो अवधिमा करिब एक हजार २०० कटहरका बोट सुकिसकेको स्थानीय ज्ञानमणि नेपालले बताए। कटहर फल्ने मण्डनदेउपुरको ज्वानेटार, जोगीटार, कान्तिटार तथा माथिल्लो भेग श्रीचौर तथा ज्याम्दीलगायतमा रहेका सयौँको सङ्ख्यामा बोट सुकिसकेका छन्। 

यो भेगमा तरकारी खाद्यान्नसँगै कटहरलाई आम्दानीको गतिलो स्रोत मान्ने गरेका किसान अहिले निराश भएको नेपालले बताए। ‘किन कटहरका रुख सुक्दै, मर्दै गए भन्नेमा किसान त अनभिज्ञ छन् नै, कतैबाट सुक्नुका कारण पत्ता लागेको छैन, याममा एउटै बोटबाट १० हजारदेखि २५ हजार रुपैयाँसम्म आम्दानी हुने गरेकोमा अहिले आम्दानी शून्य जस्तै भएको छ।’

किसान पशुपति श्रेष्ठका बारी-कान्लामा केही वर्षअघिसम्म एक दर्जनभन्दा बढी कटहरका रुख थिए। यसमध्ये अहिले आठ वटा सुकिसकेको उनले बताए। बर्सेनी ४० हजार रुपैयाँको कटहर बेच्दै आएका उनी अहिले कटहर बेच्नै नपाउने अवस्थामा पुगेका छन्। ‘अलिअलि फल्दैछन्, ती बाँकी बोट पनि कहिले सुक्ने हुन्, अब त रुख काटेर बाल्नुपर्ने अवस्था आउन थाल्यो’, श्रेष्ठले भने।

एउटै बोटमा तीन सयदेखि चार सय वटासम्म कटहर फल्ने गरेकामा अहिले १५० वटा फल्म पनि मुस्किल हुन थालेको छ। कटहरका रुखमात्र सुक्न थालेपछि किसानहरु यसबारे अध्ययन हुनुपर्नेमा माग गर्दै आएका छन्। 

Laxmi sunrise bank
kumari

यो क्षेत्रमा करिब दुई हजारको हाराहारीमा कटहरका रुख छन्। यो कृषिविज्ञका लागि चुनौतीको विषय बनेको चण्डेनी-मण्डनका सामाजिक अगुवा अध्यक्ष हरिप्रसाद नेपालको बुझाइ छ। ‘कृषि विज्ञको टोलीले अनुसन्धान गरिरहेका छन्, रुखको जरामा ढुसी परेकाले सुकेको भन्ने प्रारम्भिक प्रतिवेदन आएको सुनिएको छ’, उनले भने। 

जिल्ला कृषि विकास कार्यालय धुलिखेलले गरेको अनुसन्धानले रुख कटहरको जरामै ढुसी-किराको प्रकोप देखिएको जनाएको छ। ’यही रोग हो भनेर अझै प्रमाणित हुन भने सकेको छैन, थप अनुसन्धान हुन जरुरी देखिन्छ’, कृषि अधिकृत रमा कार्कीले भने। 

प्रकाशित: Mar 19, 2025| 08:30 बुधबार, चैत ६, २०८१
प्रतिक्रिया दिनुहोस्