बिहीबार, साउन २१, २०८३

ट्रम्प र पुटिनबीच युक्रेनबारे छलफल हुने

 |  सोमबार, चैत ४, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, चैत ४, २०८१

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्यका लागि रुसी समकक्षी भ्लादिमिर पुटिनसँग मंगलबार कुरा गर्ने योजना रहेको बताएका छन्।

अमेरिकी अधिकारीहरूले साउदी अरबमा भएको वार्तापछि वासिङ्टनले तीन वर्षे युद्ध रोक्ने प्रस्ताव गरेको केही हप्ताभित्रै युक्रेन र रुसबीच युद्धविराम सम्झौता हुन सक्ने आशा व्यक्त गरेका थिए।

“मलाई लाग्छ कि हामी युक्रेनी भूमि, विद्युत् गृहको बारेमा कुरा गर्नेछौं,” ट्रम्पले एयर फोर्स वनमा पत्रकारसँगको कुराकानीमा भने। “मलाई लाग्छ, युक्रेन र रूस दुवै पक्षबीच यस विषयमा धेरै छलफल भइसकेको छ। हामी पहिलो पटक यसको बारेमा कुरा गर्दैछौँ र केहि जमिनहरूमाथिको दावीबारे टुङ्गो लगाउने बिषयमा छलफल गर्दैछौँ।

वासिङ्टन र किएभका युरोपेली सहयोगीहरूले मस्कोलाई युद्ध रोक्न दबाब दिइरहेका छन् तर पुटिनले यसबारे कुनै स्पष्ट जवाफ दिएका छैनन्। बरु शर्तहरूको एक शृङ्खला सूचीबद्ध गर्दै अमेरिकी प्रस्तावमाथि ‘गम्भीर प्रश्नहरू’ उठाएका छन्।

केही दिनअघि पुटिनसँग केही घण्टा भेटवार्ता गरेका ट्रम्पका दूत स्टिभ विटकोफले सीएनएनसँगको कुराकानीमा भनेका छन्, “दुई राष्ट्रपतिबीच यो साता निकै राम्रो र सकारात्मक छलफल हुनेछ ।”

उनले भने, “सायद, ट्रम्पले वास्तवमै आगामी हप्ताहरूमा कुनै न कुनै प्रकारको सम्झौता हुने अपेक्षा गर्नुभएको छ र यो आवश्यक मुद्दा हो भन्ने मेरो पनि विश्वास हो।”

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्रेमलिनले युद्ध अन्त्य गर्न नचाहेको आरोप लगाएका समय ट्रम्प र पुटिनबीच वार्ता हुनेछ । कुनै पनि युद्धविराममा सहमत हुनुअघि मस्कोले पहिले ‘युद्धभूमिमा आफ्नो स्थिति सुधार्न’ चाहेको जेलेन्स्कीले बताएका छन्।

 

प्रकाशित: Mar 17, 2025| 12:09 सोमबार, चैत ४, २०८१
प्रतिक्रिया दिनुहोस्