मंगलबार, पुस ८, २०८२

सम्झौताको पाँच वर्षपछि कुश्मिसेरा-राङखानी सडकले लियो गति

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

बागलुङ- गलकोट ठेक्का सम्झौता भएको पाँच वर्षपछि कुश्मिसेरा–राङखानी सडक स्तरोन्नतिले गति लिएको छ। दुई वर्षमा कालोपत्र सक्ने गरी ठेक्का सम्झौता गरेको बागलुङको कुश्मिसेरा–राङखानी सडक पाँच वर्षपछि मात्रै कालोपत्र हुने आस पलाएको छ।

National life

निर्माण व्यवसायीको ढिलासुस्तीका कारण अलपत्र बनेको सडक स्थानीयको आन्दोलन र पूर्वाधार कार्यालय घेराउपछि काम सुरु भएको हो। पछिल्लो ठेक्का खोलिएको राङखानीबाट बरेङ जाने सडक कालोपत्र भइसक्दा पनि ०७६ सालमा काम सुरु गरेको १० किलाेमिटर खण्ड सम्पन्न नभएको भन्दै स्थानीयले गत पुसमा पूर्वाधार कार्यालय घेराबन्दी गरेका थिए। स्थानीयको आन्दोलनपछि निर्माण व्यवसायी काममा फर्केर सडक स्तरोन्नतिको काम थालेको छ।

एक वर्षदेखि सम्पर्कमा नआएको ठेकेदार स्थानीयको आन्दोलन र प्रशासनको दबाबपछि काममा आएको पूर्वाधार विकास कार्यालयका प्रमुख दिनेश घिमिरेले बताए। घिमिरेले निर्माण व्यवसायीलाई एक वर्षमा सातवटा पत्र पठाएको बताए। घिमिरेका अनुसार चैतसम्म सडक कालोपत्रका लागि म्याद रहेको र सोही समयभित्र काम सक्ने निर्माण व्यवसायीले प्रतिबद्धता जनाएको छ।

पाँच वर्षमा ५७ प्रतिशत भौतिक प्रगति भएको उक्त सडकमा कालोपत्रका लागि ग्राभेल र कालोपत्र गर्न बाँकी रहेको छ। कटिङ, नाली निर्माण तथा पर्खाललगायत काम सम्पन्न भए पनि पाँच वर्षमा पूर्वाधारमा समेत क्षति भएर मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ। ‘२४ करोड ५८ लाखमा दुई वर्षमा सक्ने गरी ०७६ असोजमा शर्मा–क्याराभान जेभीसँग ठेक्का सम्झौता भएको थियो, अहिले तेस्रोपटकलाई म्याद थप भएको छ, स्थानीयको आन्दोलनपछि अहिले काममा ठेकेदार फर्केको छ,’ घिमिरेले भने, ‘कोरोना त्रास र मूल्यवृद्धि भनेर निर्माण व्यवसायीले सडक निर्माणमा ढिलाइ गर्दै आएको थियो, यही गतिमा काम भए चैतसम्म प्रगति अन्तिम चरणमा पुर्‍याउने आस छ।’

स्थानीयको घर भाडा नतिरेको, श्रमिकले लगेको खाद्यान्नको रकमसमेत भुक्तानी नगरेको र नागरिकले धुलाम्मे सडककाे सास्ती खेपेपछि स्थानीय भीम श्रीसको नेतृत्वमा पुसमा पूर्वाधार कार्यालय घेराउ गरिएको थियो।

Laxmi sunrise bank
kumari

जैमिनी नगरपालिकाको मेरुदण्डका रूपमा रहेको कुश्मिसेरा–राङखानी–बरेङ सडकको उपल्लो क्षेत्र कालोपत्र भए पनि तल्लो क्षेत्रमा कालोपत्रको काम बाँकी छ। निर्माण व्यवसायीले सार्वजनिक खरिद ऐनको १३औँ संशोधनअनुसार तेस्रोपटक पूर्वाधार मन्त्रालयले नै म्याद थपेको प्रमुख घिमिरेले जानकारी दिए। अहिले धमाधम काम भइरहेको निर्माण व्यवसायी चन्द्र थकालीले जानकारी दिए।

जिल्लाको दक्षिण भेग जैमिनी नगरपालिका र बरेङ गाउँपालिकालाई समेट्दै गुल्मीको शान्तिपुर जोड्नका लागि २१ किलाेमिटर सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको थियो। पहिला ठेक्का लगाएको सडक बल्ल स्तरोन्नति हुँदा दोस्रो खण्ड भने कालोपत्र गरेर चिटिक्क बनिसकेको छ। रासस

प्रकाशित: Mar 16, 2025| 19:31 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्