मंगलबार, पुस ८, २०८२

कारागारमा १५० भन्दा बढी दीर्घरोगी

 |  आइतबार, चैत ३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, चैत ३, २०८१

चितवन- चितवन कारागारमा दीर्घरोगी कैदीबन्दीको सङ्ख्या बढिरहेको पाइएको छ। यहाँ रहेका सात सय १३ जना कैदी बन्दीमध्ये एक सय ५४ जना दीर्घरोगी छन्। 

National life

कार्यालयका निमित्त प्रमुख चेतनाथ ढुङ्गानाका अनुसार दीर्घरोगीमा सबैभन्दा धेरै उच्च रक्तचाप रहेका छन्। उनका अनुसार उच्च रक्तचापका ७० जना, मधुमेहका ५० जना, थाइराईडका १५ जना, क्षयरोगका नौ जना रहेका छन्। 

यस्तै एचआईभी एड्सका पाँचजना, छारे रोगका तीनजना र क्यान्सरका दुई जना बिरामी कारागारमा रहेको उनले बताए। उनले भने, “कैदीबन्दीमा रोग देखिएपछि उपचारका लागि सहजताका लागि काठमाडौँपछि चितवन बढीले रोज्ने गरेका छन्।” यी बिरामी कैदीबन्दीको उपचार र नियमित औषधिका लागि कारागार कार्यालयले व्यवस्थापन मिलाउँदै आएको छ। 

राज्यले कारागारका कैदीबन्दीको उपचारका लागि विनियोजन गर्ने बजेटबाट उनीहरूको उपचार गरिँदै आइरहेको छ। कार्यालयलाई रू १० लाख मात्र उनीहरूको स्वास्थ्य परीक्षण र औषधिका लागि बजेट विनियोजन हुने गरेको छ। यो बजेट अभाव हुँदा समय समयमा विभिन्न सङ्घसंस्थाबाट औषधि सहयोग लिँदै आएको उनले बताए। ढुङ्गानाले भने, “क्यान्सरको उपचार गर्नुपर्दा एउटै व्यक्तिलाई लाखौँ खर्च हुन्छ। बजेटले पुग्दैन। सहयोग माग्नुपर्ने अवस्था आउँछ।” 

प्रदेश सरकार, स्थानीय सरकार, जनस्वास्थ्य कार्यालय र विभिन्न सङ्घसंस्थाको सहयोगमा उनीहरूको उपचार गरिँदै आएको छ। निजी अस्पतालमा आफूले चाहेका चिकित्सकसँग उपचार गराउन चाहने कैदीबन्दीले आफैले खर्च गर्छन्। 

Laxmi sunrise bank
kumari

गर्मी मौसम सुरू भएसँगै भाइरलको समस्या हुनसक्ने भएकाले उच्च सतर्कता अपनाइएको उनले बताए। गर्मी मौसममा लामखुट्टेबाट लाग्नसक्ने रोगलाई नियन्त्रणका लागि पोखरीमा कीटनाशक औषधिको प्रयोग, झुलको व्यवस्थापन, खानपान र व्यक्तिगत स्वास्थ्यमा ध्यान दिनका लागि अनुरोध गरिएको छ। आर्थिक वर्षको अन्तिम तीन महिना बजेटका कारण उपचारका लागि समस्या हुने गरेको उनले बताए।

प्रकाशित: Mar 16, 2025| 10:01 आइतबार, चैत ३, २०८१
प्रतिक्रिया दिनुहोस्