मंगलबार, पुस ८, २०८२

दूध बेचेर मासिक दुई लाख कमाइ

 |  शनिबार, चैत २, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, चैत २, २०८१

तनहुँ- जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबास निवासी लेखनाथ बाँस्तोला विगत चार वर्षदेखि व्यावसायिक गाई पालनमा लागेका छन्। गाडी व्यवसायीसमेत रहेका बाँस्तोलाले कोरोना सङ्क्रमणका बेला बन्दाबन्दी (लकडाउन) हुँदा चर्को समस्या खेप्नु परेपछि गाउँ फर्किएर पशुपालन पेसा गरेका हुन्। 

National life

लकडाउन हुनुअघि गाडी व्यवसायबाट राम्रै आम्दानी हुने गरे पनि लकडाउनका कारण व्यवसाय धरासायी बनेपछि आफूले यस पेसा अँगालेको कृषक बाँस्तोला बताउछन्। उनका फार्ममा अहिले २२ वटा गाई छन्। जसमध्ये १५ वटा लइना गाईबाट दैनिक दुई सय लिटर दूध बिक्री गर्दै आएका छन्। सुरूमा रू एक करोडको लगानी भएको छ”, उनले भने, “मासिक रू चार लाखको दूध बिक्री गर्छु, सबै खर्च कटाएर मासिक रू दुई लाख कमाउँदै आएको छु।”

त्यसैगरी अर्का दुग्ध व्यवसायी मेघनाथ आचार्यले नौ वटा गाईबाट दैनिक ४० लिटर दूध बिक्री गर्दै आएका छन्। तेह्र वर्ष वैदेशिक रोजगारीमा रहेका आचार्य स्वदेश फर्किएर गाईपालन व्यवसायमा लागेका हुन्। खर्च कटाएर मासिक रू ४५ हजार कमाउँदै आएको कृषक आचार्य बताउछन्। आफ्नो चार रोपनी र भाडामा १२ रोपनी जग्गा लिएर घाँसखेती गरेको छु”, उनले भने, “सुरूमा रू दश लाख लगानी गरी थालिएको व्यवसायबाट परिवार सन्तुष्ट छौँ।” 

गाउँका अधिकांश व्यक्ति पशुपालन र कृषिमा लागेपछि यस क्षेत्रको मुहार फेरिएको छ। आर्थिक क्षेत्रमा सबल बन्नुका साथै अन्यका व्यक्तिका लागि पनि गरे हुँदो रहेछ भन्ने गतिलो सन्देश यस क्षेत्रका पशुपालन कृषकले दिएका छन्। 

गाउँबाट दैनिक एक हजार छ सय लिटर दूध बिक्री हुँदै आएको छ। उत्पादित दूध बेलबास दुग्ध उत्पादक सहकारी संस्थामार्फत दमौली र पोखरामा बिक्री हुने गरेको छ। संस्थामा आबद्ध एक सय जना शेयर सदस्यमध्ये ६५ जना कृषकले पशुपालनबाट दुग्ध उत्पादन गर्दै आएको संस्थाका व्यवस्थापक श्रीप्रसाद साँखीले जानकारी दिए। 

Laxmi sunrise bank
kumari

उनले भने, “कृषकको खरिद मूल्यअनुरूप दैनिक रू एक लाख ३० हजार मूल्यको दूध सङ्कलन हुने गरेको छ, थोरैमा रू १५ हजारदेखि दुई लाखसम्म मासिक कमाउने गरेका छन्।” यहाँ उत्पादित दूधमध्ये दमौलीमा रहेका दुई डिपोबाट छ सय लिटर र बाँकी एक हजार लिटर दूध सुजल डेरी पोखरामा पठाइने गरिएको छ। पोखरा नपठाई स्थानीय बजारमा नै खपत गर्न सकिए यहाँका कृषकले अझै बढी फाइदा लिन सक्ने उनी बताउछन्। 

दूधका साथै दही, पनिर, नौनी र घ्यू पनि बिक्री गर्ने गरिएको छ। आठ जना कर्मचारीले प्रत्यक्ष रूपमा रोजगारी पाएका छन्। यस क्षेत्रका अधिकांश मानिसहरू पशुपालन गरी आत्मनिर्भर बन्न सफल भएका छन्। व्यावसायिक पशुपालन कृषकलाई राज्यले प्रोत्साहन गर्न दाना, चोकरको महँगी नियन्त्रण र उत्पादनका आधारमा अनुदानलाई प्राथमिकता दिन सके अझै प्रभावकारी हुनसक्ने संस्थाका अध्यक्ष केशवबहादुर रानाले बताए। 

गाउँ नजिकै दुग्ध संकलन केन्द्र रहेकाले कृषकले बिहान र बेलुका उत्पादन गरेका दूध बिक्री गर्न समेत सहज भएको छ। कृषकका मागबमोजिम बेलबास दुग्ध उत्पादक सहकारी संस्थालाई दुई वटा डिप फ्रिज अनुदानमा सहयोग गरिएको वडाध्यक्ष वसन्तबहादुर आलेले बताए। उनले भने, “नगरपालिकाले उत्पादनका आधारमा कृषकलाई प्रतिलिटर दूधमा रू एक अनुदान प्रदान गर्दै आएकोमा वृद्धि गर्ने योजना बनाएको छ।”

प्रकाशित: Mar 15, 2025| 11:01 शनिबार, चैत २, २०८१
प्रतिक्रिया दिनुहोस्