मंगलबार, पुस ८, २०८२

चितवनमा मेवाको बिरुवाको माग उच्च

 |  बुधबार, फागुन २८, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २८, २०८१

चितवन- जिल्लामा सरकारीस्तरमा उत्पादन गरिएको मेवाको बिरुवा माग बढ्दै गएको छ। व्यावसायिक कीट विकास फार्म भण्डारले ‘हाइब्रिड’ जातको मेवाको बिरुवा उत्पादन गरेर बिक्री गर्न थालेपछि माग बढेको हो।

National life

कार्यालयका सूचना अधिकारी कमलनयन पन्तका अनुसार फार्मको जग्गामा लगाइएका बिरुवा बिक्रीका लागि तयार भएका छन्। उनले भने, 'थोरै बिरुवा उत्पादन गरिएको भए पनि माग उच्च छ।'

अहिले चार हजार बीउ लगाइएकोमा तीन हजार हाराहारी बिरुवा उत्पादन भएका छन्। उनका अनुसार रेड लेडी जातको मेवाको बिरुवा उत्पादन गरी बिक्री गर्न थालिएको हो। यो ताइवानको बीउ हो। यो मेवा फल धेरै लाग्ने र छोटो समयमा खानका लागि तयार हुने गर्दछ।

गत माघको दोस्रो साता लगाइएको बीउको बिरुवा अहिले रोप्नका लागि तयार भएको हो। अझै एक हप्तापछि रोप्न उपयुक्त हुने उनले बताए। बिरुवा रोपेको दश महिनापछि राम्रो उत्पादन दिने गर्दछ।

कार्यालयका कृषि प्राविधिक पवनकुमार यादवका अनुसार हाइब्रिड जात भएकाले एक वर्ष उत्पादन लिएर पुनः बिरुवा लगाउँदा उपयुक्त हुन्छ। तर यसले पनि दुई-तीन वर्षसम्म पनि फल भने दिने गर्दछ। पछिल्लो वर्षमा उत्पादन क्षमता घट्दै जाने उनको भनाइ छ।
 
उत्पादन राम्रो हुने भएकाले किसानले बिरुवाको माग धेरै गरेका छन्। हालसम्म चार हजारभन्दा बढी बिरुवाको माग भइसकेको छ। पहिला नाम टिपाउनेलाई बिरुवा दिने उनले बताए। दुई पटक गरेर बिरुवा उमार्ने लक्ष्य लिइएको भए पनि बीउ नपाउँदा दोस्रो लट रोप्न नपाएर मागअनुसार दिन नसकिएको हो। धेरै एकैचोटी लगाउँदा खेर जान सक्ने भएकाले सुरुमा थोरै लगाइएको उनी बताउँछन्।

Laxmi sunrise bank
kumari

कार्यालयले चार वर्षअघिदेखि मेवाको बिरुवा उत्पादन सुरु गरेको हो। स्थानीय जातका मेवाभन्दा धेरै उत्पादन दिने र स्वादमा फरक पाइने यो जातका बिरुवाको माग बढेपछि आगामी वर्षहरुमा उत्पादन बढाउने उनले बताए। उनका अनुसार मेवाका बिरुवालाई प्रतिगोटा ३५ रूपैयाँमा बिक्री गरिएको छ।

अहिले चितवनसहित मकवानपुर, धादिङलगायतका जिल्लाबाट मेवाको बिरुवाको माग आएको छ। रासस

प्रकाशित: Mar 12, 2025| 17:01 बुधबार, फागुन २८, २०८१
प्रतिक्रिया दिनुहोस्