काठमाडौं- राजधानीबाट प्रकाशित शुक्रबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई पहिलो प्राथमिकतामा पारेका छन् ।
आजको कान्तिपुर र नागरिक दैनिकले व्यवसायी अजयराज सुमार्गीको सम्पत्ति शंकास्पद भएको भन्दै अदालतले अनुसन्धान गर्न निर्देशन दिएको विषयलाई मुख्य समाचार बनाएका छन् ।
नागरिकले सुमार्गीको सम्पत्ति शंकास्पदः बैंकबाट निकालेको रकम फिर्ता गर्न आदेश शीर्षकमा मुख्य समाचार छापेको छ भने कान्तिपुरले सुमार्गीको रकमबारे सर्वोच्चको आदेशः अनुसन्धान गर्नू शीर्षकमा खबर लेखेको छ ।
आफ्नै अन्तरिम आदेशलाई सच्याउँदै सर्वोच्च अदालतले व्यापारी अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्टको नाममा निकासा भइसकेको रकम पहिलेकै अवस्थामा ल्याउन अर्को आदेश जारी गरेको छ। सर्वोच्चले सुमार्गीको रकममा सम्पत्ति शुद्धिकरण ऐनअन्तर्गत अनुसन्धान गर्नुपर्ने देखिएकाले बैंकबाट झिकिएको विवादित रकम फिर्ता लिन नेपाल राष्ट्र बैंक र इन्भेस्टमेन्ट बैंकलाई आदेश दिएको हो ।
यस्तै आजको नागरिकले डा. केसीको समर्थनमा इलाममा र्याली निकालिएको विषयलाई पनि महत्वका साथ छापेको छ । कान्तिपुरले भने त्रिभुवन विश्वविद्यालयको जग्गा मिचेर बाटै बाटो बनाएको विषयलाई प्राथमिकताका साथ प्रकाशित गरेको छ । त्रिविको जग्गा अतिक्रमणको एउटा कारणको रुपमा बाटो निर्माण पनि भएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने बाइडबडी किन्न २१ बैठकः कसको भूमिका के ? शीर्षकमा मुख्य समाचार छापेको छ ।
उसले मितिसहित कुन बैठकमा के निर्णय भएको थियो भन्ने विवरण समेत प्रकाशित गरेको छ । यस्तै नयाँ पत्रिकाले सांसदका पिएको तलव अब उनीहरुकै खातामा आउने व्यबस्था मिलाइएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । संसद् सचिवालयको पहलमा १२० सांसदले आफ्ना पिएको खाता नम्बर बुझाएको समाचारमा उल्लेख छ ।
यसैगरी प्रदेश ५ मा किनिएको एकै प्रकृतिका गाडीको मूल्य फरक फरक भेटिएपछि लेखासमितिले छानविन सुरु गरेको र श्रीमानबाटै निर्मला पन्तकी आमा कुटिएको विषयलाई नयाँ पत्रिकाले पहिलो पृष्ठमा स्थान दिएको छ ।
आजको अन्नपूर्ण पोस्ट्ले भने छाउपडीको छोइछिटो शीर्षकमा मुख्य समाचार छापेको छ ।
बाजुरामा छाउगोठमै निसास्सिएर दुई बालक छोरासहित ३५ वर्षीय अम्बा बोहोराको मंगलबारराति निधन भयो । महिनावारी हुँदा घरमा बस्न नहुने यो चरम अन्धविश्वासको सिकार धेरै महिला भइसकेका छन् । शिक्षितले समेत त्याग्न नसकेको छाउगोठमा कष्ट सहेर यहाँका ९५ प्रतिशत महिला बस्ने गरेको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४