एजेन्सी- पोर्चुगिज तथा युभेन्ट्सका सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डो माथि पुनः अर्को आरोप लागेको छ । पछिल्लो समय बलात्कारको आरोप खेपि रहेका रोनाल्डोमाथि उनकी पूर्वप्रेमिकाले पुनः अर्को आरोप लगाएकी हुन् ।
उनकी पूर्वप्रेमिका मोडल जास्मिन लेनार्डले रोनाल्डोको आलोचना गर्दै उनलाई ‘मानसिक रोगी र झुठा व्यक्ति’ भएको आरोप लगाएकी छन् । उनले रोनाल्डो मानसिक रोगी र झुठो भएको आरोप लगाउँदै त्यसलाई पुष्टि गर्न आफूसँग प्रशस्तै आधार र प्रमाण भएको दाबी गरेकी छन् ।

यतिमात्र हैन उनले अमेरिकाकी अर्की मोडल क्याथरिन म्योग्राले रोनाल्डोमाथि लगाएको बलात्कारको आरोपमा आफूले सहयोग गर्ने समेत बताएकी छन् । ‘म क्याथरिन म्योग्रा र उनका वकिललाई रोनाल्डोविरुद्धको बलात्कार मुद्दामा सहयोग गर्न चाहन्छु । मलाई सम्पर्क गर्नू होला । मसँग त्यस्तो सूचना छ, त्यसले तपाईंलाई सहयोग गर्न सक्छ ।’
पूर्वप्रेमिका जास्मिनले ट्वीटरमा लेखेकी छन्, ‘म रोनाल्डोबाट अपमानित भएकी छु । र रोनाल्डो फुटबलर, गायक वा अन्य कुनै व्यक्ति भए पनि मलाई कुनै फरक पर्ने छैन् ।’ पूर्वप्रेमिका जास्मिनले सामाजिक सन्जाल ट्वीटरबाट आधा दर्जभन्दा बढी ट्वीट गर्दै रोनाल्डोविरुद्ध खनिएकी हुन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४