धनगढी- अछामको रामारोशन गाउँपालिकामा-३ मा दिनसम्म सञ्चालन भएको बृहत एकिकृत घुम्ती शिविरमा स्थानीय नागरिकले बिशेषज्ञ सहितको स्वास्थ्य सेवा सहित नेपाली नागरिकतालगायत सम्पूर्ण सरकारी सेवा लिएका छन। शिविरमा ४ हजार ७ सय ९३ जनाले सेवा लिएका हुन्।
गाउँपालिकाको केन्द्र मुजाबगरमा सञ्चालन भएको शिविर रामारोशन गाउँपालिका र सुदुरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयको सयुक्त आयोजनामा भएको हो । शिविरको संयोजन सुदुरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयले गरेको थियो।
तीन दिनसम्म सञ्चालन भएको शिविरमा तीन सय ८७ जनाले नेपाली नागरिकता प्राप्त गरेका छन भने २१ जनाको अपागंता परिचयपत्र सिफारिस गरिएको छ। यस्तै तीन सय ५१ जनाको फोटो सहितको मतदाता नामावलिमा नाम दर्ता, तीन सय ७२ कृषकका पशु वस्तुहरुको उपचार, एक सय ५५ कृषकको कृषि बाली प्रर्दशनी चार सय ६३ कृषकलाई विभिन्न कृषि बिउविजन वितरण, चार सय ७२ कृषकलाई कृषि परामर्श सेवा, दुई सय २९ जनालाई बहुक्षेत्रीय पोषण योजना अर्न्तगत पोषण परामर्श र २१ वटा घरेलु तथा साना उद्योग दर्ता गरिएको गाउँपालिकाले जनाएको छ।
यसैगरि विशेषज्ञ डाक्टर सहितको स्वास्थ्य शिविरमा जम्मा दुई हजार दुई सय २१ जनाले स्वास्थ्य उपचार गराएका छन। जसमा ३७७ जनाले भीडियो एक्सरे सेवा, ४३७ जनाले हाडजोर्नी र नसा सम्वन्धि उपचार, ३१७ जनाको नाक, कान घाँटी र दन्तरोग सम्वन्धि उपचार, ३६७ जनाको स्त्रीरोग सम्बन्धि उपचार, एक सय ९० जनालाई प्रयोगशाला तथा ल्याव सेवा, सामान्य उपचार तर्फ ४८८ जना र १४५ जनाले आयुबेर्दी उपचार सेवा लिएको रामारोशन गाउँपालिकाका सूचना प्रबिधि अधिकृत बुद्धि बहादुर साउदले जानकारी दिए।
गाउँपालिकामा बृहत शिविर संञ्चालन गरेपछि नागरिकहरुले दुर्गममा पहिलो पटक बिशेषज्ञ सहितको निशुल्क स्वास्थ्य सेवा प्राप्त गर्ने अवसर पाएको गाउँपालिका अध्यक्ष झंकर बहादुर साउदले बताए। विशेषगरी महिला, वृद्धबृद्धा र गरिव दुःखीहरुका लागि स्वास्थ्य समस्याको पहिचान, पहिचान भएका रोगहरुको निदानका लागि शिविर प्रभावकारी भएको अध्यक्ष साउँदले बताए।
शिविरबाट जटिल खालका रोगहरु पहिचान भई कतिपय विरामीहरुलाई नेपालगञ्ज मेडिकल कलेजमा रेफर समेत गरिएको बताईएको छ । शिविरको उदघाटनका लागि सुदूरपश्चिम प्रदेश सामाजिक बिकास मन्त्री कृष्णराज सुवेदी र आर्थिक मामिला तथा योजना मन्त्री झपट बहादुर बोहरा, प्रदेशका प्रमुख सचिव नारायण प्रसाद बिडारी सहित कर्मचारी र बिशेषज्ञ डाक्टरहरुको टोलि मुजाबगर पुगेको थिय।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४