बुधबार, साउन १३, २०८३

निकुञ्जमा बाघ बढे, आहारा बढेन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
बाँके – बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या बढेको छ तर, उनीहरुलाई पुग्दो आहारा छैन। वि.सं. २०६७ मा स्थापना भएको निकुञ्जमा यतिबेला २१ वटा बाघ छन्। बाघको सङ्ख्या वृद्धि भइरहेको छ, तर उनीहरुका लागि आहारा र पानीको व्यवस्था गर्न निकुञ्जलाई हम्मेहम्मे छ। बाघको सङ्ख्याको तुलनामा यसले आहारा बनाउने जनावरहरु नबढ्दा दीर्घकालीन रुपमा बाघ संरक्षणको काम चुनौतीपूर्ण बन्न पुगेको छ। 

निकुञ्जले शून्य चोरी शिकारीको अवस्था सिर्जना गरी बाघको सङ्ख्यामा वृद्धि गर्‍यो। अब भने निकुञ्जसामु बाघको आहारा वृद्धि गर्ने चुनौती आइपरेको छ। यसका लागि बाघको आहारा हुने जनावरको वृद्धि र संरक्षणमा लाग्नु जरुरी भएको छ। कुल ५५० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको ७० प्रतिशत भन्दा बढी क्षेत्रफल चुरे क्षेत्र पर्छ, बाँकी समथल र जङ्गल। 

यी क्षेत्रमा घाँसे मैदानको कमी छ। बाघलगायत जनावरका लागि पिउने पानीको मुहानको कमी छ। प्रतिबाघ १५ देखि ४० वर्ग किलोमिटर क्षेत्रफलको सिमाना रहन्छ। यो हिसाबमा बाघका लागि उचित आहार तथा पिउने पानीका स्रोतसमेत अपर्याप्त छ। बाघले आहारा बनाउने जनावरको संरक्षणसँगै बासस्थानको सुधारमा समेत लाग्नुपर्ने आवश्यकता रहेको संरक्षणकर्मीहरु बताउँछन्। बाघको आहारा जनावरहरु घाँसमा निर्भर हुने हुँदा यस्ता जनावरको संरक्षणका लागि घाँसे मैदानको समेत व्यवस्थापन जरुरी रहेको संरक्षणकर्मी हेमन्तराज काफ्ले बताउछन्। 

विज्ञहरूका अनुसार बाघको आहाराका लागि वर्षमा १४ देखि ४० किलोग्रामसम्मका सरदर ५० वटा वन्यजन्तु आवश्यक पर्छ। पछिल्लो गणनामा भेटिएका २३५ बाघलाई पुग्ने आहारा नेपालका राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र, आसपासका वन क्षेत्र र जैविक मार्गमा छन्। बाघको आहाराका रुपमा रहने मृग, हरिण, चित्तल, जरायो, बँदेल लगायतका वन्यजन्तुको सङ्ख्या पनि सोहीअनुसार वृद्धि भएमा आहारा शृंखलामा मद्दत पुग्ने संरक्षणकर्मी काफ्ले बताउछन्। 

विभिन्न कारणले बासस्थान र आहारामा सङ्कुचन हुँदा दुर्लभ पाटेबाघ सङ्कटमा पर्ने सम्भावना रहने समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा जागरण सञ्जालका अध्यक्ष कृष्णलाल चौधरी बताउछन्। उनले भने, ‘मानवीय चाप, अतिक्रमण र मिचाहा झारले बाघको बासस्थान घट्छ। घाँसे मैदान नभएर आहारा प्रजाति पनि घट्दाको अवस्थामा बाघको बासस्थानलाई संरक्षण गर्नुपर्छ।’ बासस्थान र आहारा प्रजाति बढाउन सके मानव र बाघबीचको द्वन्द्व कम हुने चौधरीको ठम्याइ छ। 

उनले भने, ‘अहिलेको अवस्थामा बाघले आहारा बनाउने जनावरहरुको संरक्षण गर्नु पहिलो दायित्व हो। बाघले वातावरण जोगाउने भएकाले अनावश्यक रूपमा भइरहेको वन विनाश रोक्न जरुरी छ।’ वन विनाशले बाघको बासस्थान सङ्कटमा पार्ने र बाघको आहारा लोप हुने खतरा रहने भएकाले बाघ जोगाउन चुनौती रहेको उनी बताउछन्। बाघको आहारा प्रजातिमा चित्तल, लगुना, बँदेल, रतुवा लगायतका जनावर पर्दछन्। 

एउटा बाघले एक पटकमा १५ देखि ४० किलोग्रामसम्म मासु खाने गर्छ जुन उसलाई एक हप्तासम्मका लागि हुन्छ। त्यतिकै मात्रामा उसलाई दिनहुँ पिउने पानीको आवश्यकता पर्दछ। निकुञ्जभित्र पानी र आहाराको कमी हुँदा निकुञ्जका बाघ मानव बस्ती वरपर जान सक्ने खतरा बढ्छ। जङ्गलमा सहजै शिकार नपाउँदा बाघ जङ्गलबाट बाहिर आउने र मानिस तथा घरपालुवा जनावरलाई आक्रमण गर्न सक्ने खतरा रहने अध्यक्ष चौधरी बताउछन्। 

मांसाहारी जनावर बाघले आहाराको रुपमा चित्तल, जरायो, हरिण, बँदेल, लगुना, रतुवा, गौरीगाई, नीलगाई, लङ्गुर, बाह्रसिङ्गे, चौका, बाँदर खान रुचाउँछ। तर, बाघ पाइने तराईका १२ जिल्लामा मृग प्रजातिका जनावर र चित्तल धेरै छन्। सन् २०१८ मा सार्वजनिक गरिएको राष्ट्रिय बाघ गणनाअनुसार नेपालमा पाटेबाघको सङ्ख्या २३५ वटा रहेका छन्। 

आहाराको अवस्था 

सन् २०१३ को राष्ट्रिय बाघ गणनाका क्रममा गरिएको आहारा सर्वेक्षण र सन् २०१८ को सर्वेक्षणलाई तुलना गर्दा बाघको आहारा प्रजातिको सङ्ख्या घटेको पाइएको छ। बाघको आहारा प्रजातिको घनत्वका आधारमा लिइएको तथ्याङ्कमा बर्दियामा सबैभन्दा बढी आहारा भेटिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्क छ। बाघ गणना २०१८ मा सार्वजनिक गरिएको आहारा प्रजातिको घनत्वमा प्रतिवर्ग किलोमिटरका हिसाबमा आहारा प्रजाति निकालिएको थियो। 

आहारा प्रजातिको सर्वेक्षण ‘लाइन ट्रान्जेक्ट’ विधिबाट गरिएको थियो। सर्वेक्षण अनुसार बर्दियामा एक वर्ग किलोमिटर क्षेत्रमा ७७ वटा बाघका आहारा भेटिएका थिए। यसअघि सन् २०१३ को गणनाका क्रममा एक वर्ग किलोमिटर क्षेत्रमा त्यहाँ ९३ वटा बाघका आहारा भेटिएका थिए। बर्दियामा अन्य निकुञ्जको तुलनामा आहारा प्रजाति बढी रहे पनि अघिल्लो तथ्याङ्कको तुलनामा कमी आएको हो। बर्दियामा अहिले ८७ वटा वयस्क बाघ छन्। 

यसअघि त्यहाँ सन् २०१३ मा गरिएको गणनामा ५० वटा बाघ थिए। आहाराको तुलना गर्दा चितवनमा पनि बर्दियापछि आहारा प्रजातिको अवस्था राम्रो छ। चितवनमा प्रतिवर्ग किलोमिटर करीब ७१ वटा आहारा प्रजाति पाइएका थिए। यसअघिको गणनाका क्रममा एक वर्ग किलोमिटरमा ७४ वटा आहारा प्रजाति थिए। त्यहाँ १२० बाट घटेर पछिल्लो गणनामा ९३ वटा बाघको आहारा गणना गरिएको छ। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज तथा आसपासका क्षेत्रमा १६ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ६८ वटा आहारा पाइएका छन्। यसअघिको गणनामा १७ वटा बाघका लागि प्रतिवर्ग किलोमिटर ७९ वटा आहारा पाइएका थिए। यहाँ पनि आहारा प्रजाति घटेको देखिएको छ। पर्सा वन्यजन्तु आरक्ष र बाँके राष्ट्रिय निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको एक वर्ग किलोमिटरमा क्रमशः २२ र ८ वटा आहारा प्रजाति पाइएका छन्। 

पर्सामा यसअघि २५ वटा र बाँकेमा यसअघि १० वटा आहारा प्रजाति प्रतिवर्ग किलोमिटरमा गणना गरिएको थियो। पर्सामा अघिल्लो गणनामा सात वटा बाघ रहेकामा अहिले १८ वटा बाघ छन्। यसअघि चार वटा बाघ रहेकामा बाँकेमा पछिल्लो बाघ गणनाअनुसार २१ वटा पुगेको निकुञ्जले जनाएको छ। 

विभागको प्रतिवेदनअनुसार पर्सामा बँदेल, मृग, नीलगाई र गौरीगाई बाघका मुख्य आहारा हुन्। यसैगरी, चितवन र बाँकेमा विभिन्न मृग प्रजाति, बँदेल, हरिण र चित्तल बाघका आहारा रहेका छन्। बर्दियामा लङ्गुर, चौका मुख्य आहारा र शुक्लाफाँटामा बाह्रसिङ्गे, चित्तल, बँदेल मुख्य आहारा रहेको पाइएको छ। 

संरक्षणकर्मीहरुका अनुसार पारिस्थितिकीय प्रणाली (इकोसिस्टम)मा बाघ महत्वपूर्ण रहेकाले त्यसको संरक्षणमा आहारा प्रजातिका वन्यजन्तुको संरक्षण जरुरी छ। ‘बाघ संरक्षणमा थुप्रै चुनौती छन्,’ संरक्षणकर्मी काफ्लेले भने। उनका अनुसार बासस्थानको खण्डीकरण, सङ्कुचन, मानव र बाघबीचको द्वन्द्व, चोरी शिकारी, अवैध व्यापार तथा रोगव्याधि जस्ता चुनौती एकातिर छन् भने यसको आहारा प्रजातिमा आएको कमी अर्को चुनौती हो। 

राष्ट्रिय निकुञ्ज तथा तराईका जङ्गलहरू बाघका लागि राम्रा बासस्थान रहेकाले इकोसिस्टममा सुधार र पर्याप्त आहाराको व्यवस्था गर्न सरकारले अभियान नै थाल्नुपर्ने काफ्लेको भनाइ छ। ‘जनताको जीवनस्तरमा सुधार र कानूनको प्रभावकारी कार्यान्वयनबाट नै समाधान हुन्छ,’ काफ्लेले भने, ‘यी सबै व्यवस्था हुन सके बाघको सङ्ख्या दोब्बर हुँदा पनि वासस्थानको समस्या हुँदैन।’ 

आहारा संरक्षणमा सरकारी प्रयास 

सरकारले वन्यजन्तुलाई खाने, बस्ने र आहाल बस्ने प्रयोजनका लागि पोखरी निर्माण गर्न ६ करोड रुपैयाँ रकमान्तर गरी यसअघि सात वटै प्रदेश सरकारको नाममा पठाइसकेको छ। अर्थ मन्त्रालयले मङ्सिर महिनामा बजेट रकमान्तर गरी सात वटै प्रदेश सरकारलाई उपलब्ध गराएको हो। 

सरकारले नीति तथा कार्यक्रममा चुरे क्षेत्रमा वर्षात्को पानी संरक्षण र पोखरी निर्माण गर्ने उल्लेख थियो। सोहीअनुसार वन्यजन्तुको प्रयोजन र वन डढेलो नियन्त्रण गर्न सरकारले चालु आर्थिक वर्षमा देशभर एक हजार ७८ वटा पोखरी निर्माण गर्ने लक्ष्य लिएको छ। आर्थिक वर्ष २०७९/८० सम्म यस्ता पोखरीको सङ्ख्या ३ हजार ४०० पुर्‍याउने सरकारको लक्ष्य छ। 

अर्थ मन्त्रालयका अनुसार वन्यजन्तु तथा डढेलो नियन्त्रणको लागि जङ्गलमा पोखरी निर्माण गर्न सबैभन्दा ठूलो रकम प्रदेश नं २ लाई उपलब्ध गराएको छ, १ करोड ४४ लाख। त्यसपछि ठूलो रकम प्रदेश ५ लाई उपलब्ध गराइएको छ। काशीराम शर्मा/रासस
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।