बुधबार, साउन १३, २०८३

हात्तीले नै हात्ती मरेको सूचना दिएपछि...

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- कोसी टप्पु आरक्षमा बुधबार बिहान ८ बजेपछि एउटा हात्ती आएर बितण्डा मच्चायो । सुनसरीको कोसी गाउँपालिका–३ पश्चिम कुशाहामा रहेको आरक्ष कार्यालय परिसरमा आएर  अराजक रुपमा उफ्रिन थाल्यो त्यो हात्ती । आरक्ष क्षेत्रको  सुरक्षार्थ खटिएको नेपाली सेनाको ब्यारेकका संरचना भत्काउन थाल्यो । हात्तीसारमा पसेर उफ्रिन थाल्यो । 

रेडियो कलर गरेको मकुना (दाह्रा नभएको एसियाली भाले) हात्तीले बिहान १० बजेसम्म यस्तो गरिह्यो । आरक्षमा बसिरहने र अरू बेला शान्त देखिने मकुनाले यस्तो गर्न थालेपछि हात्तीका जानकारले चासो देखाए । हात्ती उफ्रँदै आएको ठाउँ खोज्दै जाँदा भेटियो एक मृत हात्ती । 

अनुमानित २५ देखि ३० वर्षको एसियाली भाले हात्ती मृत भेट्यो आरक्ष प्रशासनले । आरक्ष कार्यालयको दुई किलोमिटर पश्चिमदक्षिण कर्नरमा सुकेको खयरको रुख नजिकै हात्ती मृत भेटियो । हात्ती भेट्टाउन माकुनाकै कारण छिटो भएको आरक्ष प्रशासनले जानकारी दियो । 

केही समयअघि मात्र आरक्षमा आएका प्रमुख संरक्षण अधिकृत (चिफ वार्डेन) रामदेव चौधरी हात्ती बुद्धिमान भएकाले हात्ती मरेको जनाउ दिएको बताउँछन् । 'मान्छे जत्तिकै ज्ञानी नभए पनि हात्तीले धेरै कुरा बुझ्छ', चौधरी भन्छन्, 'त्यही भएर मरेको हात्ती देखेर जानकारी दिएको हुनसक्छ ।'

मकुना बालुवामा भासिएर मरेको हुनसक्ने चिफ वार्डेन चौधरीले बताए । हात्तीको अगाडिको खुट्टा भासिएर विशाल ज्यान चलमलाउन नसक्दा छटपटाएर मरेको अनुमान छ ।  केही स्थानीयले एक दिनअगाडि दुई मकुनाहरु जुधेको देखेको बताए पनि हात्ती जुधाइमा भुइँ माडिएको नभेटिएकाले त्यो सम्भावना नभएको चौधरीले बताए । हात्तीका दाह्रा र शरीरका अंग कसैले नचलाएकाले तस्करीले मारेको शंका गर्ने आधार नभएको चौधरीले बताए । 



दुई वर्षमा दुई हात्ती घटे 

२०७४ असोज ५ गते कोसी टप्पु वन्यजन्तु आरक्षमा हात्ती मरेको भेटिएको थियो । हात्तीका दाह्रा र पुच्छर आधुनिक मेसिनबाट काटेर लगेको पाइएको थियो । २५ वर्षे उक्त हात्तीको तस्करबाट हत्या भएको ठिक १५ महिनापछि मंगलबार कोसी टप्पुमा अर्को हात्ती मरेको हो । 

कत्ति छन कोशी टप्पुमा घरेलु र जंगली हात्ति?

१७५ वर्ग किलोमिटर क्षेत्रफलमा सुनसरी, उदयपुर र सप्तरीसम्म फैलिएको कोसी टप्पु वन्यजन्तु आरक्ष नेपालको एक्लो वन्यजन्तु आरक्ष हो । २०३२ सालमा स्थापना भएको आरक्षमा ११ वटा घरपालुवा हात्ती छन् भने वार्षिक १२ वटा हात्ती आरक्षमा ओहोरदोहोर गर्ने आरक्षको अध्ययनले देखाएको छ ।  अब आरक्षण ओहोरदोहोर गर्ने हात्तीको संख्या ११ भएको चिफ वार्डेन रामदेव चौधरीले बताए । 

नेपालमा एकमात्र अर्ना (जंगली भैंसी) पाउने कोसी टप्पुमा गत वर्षको अर्ना गणनाअनुसार ४४१ वटा अर्ना छन् ।  चराहरुको स्वर्ग भनिने कोसी टप्पुमा ५४० प्रजातिका रैथाने र आगन्तुक चरा रहेको आरक्षको तथ्यांक छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।