बुधबार, साउन १३, २०८३

कर्णाली प्रदेशमा किन किताब खोज्दै छ प्रहरी ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
सुर्खेत- तपाईंसँग कुनै प्रेरणादायी र जीवन उपयोगी किताब छ ? सकारात्मक सन्देश दिने त्यस्ता किताब पढेर कोठामै थन्काउनुभएको छ ? छ भने ती किताबलाई सीधै कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतमा पठाइदिनोस् ।

तपाईं जुनसुकै कुनामा भए पनि हुलाक वा नजिकैको प्रहरी कार्यालयमा पुगेर ‘महेशविक्रम शाह, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत’ को ठेगानामा पठाइदिनोस् । किनकि विगत एक महिनादेखि कर्णाली प्रदेश प्रहरी कार्यालयले अभियान बनाएर जीवन उपयोगी किताब खोजिरहेको छ ।

तपाईंले किताबहरू पठाइदिनुभयो भने प्रहरीलाई सानो सहयोग मात्रै हुने छैन कुनै एउटा बन्दकोठामा पट्यार लाग्दो जिन्दगी बिताइरहेका त्यस्ता मानिसको उद्धार हुनेछ । जेलको चिसोमा जिन्दगीलाई धिक्कार्दै बसेका कैदीहरुको दिमागमा सकारात्मक सन्देश मिल्नेछ । कुनै समयको गल्तीका कारण वर्षाैंदेखि परिवारबाट अलग बस्नुपर्दा काल कुरेर बसिरहेका कैदीलाई थोरै भए पनि बाँच्ने साहस मिल्नेछ ।

तपाई‌ले दिएको एउटा सानो किताबले कसैको जीवन सकारात्मक दिशामा मोडिनेछ । भन्नुको अर्थ जेल सजाय भोगेर फर्किएपछि त्यस्ता व्यक्ति फेरि जेलको ढोकासम्म पुग्ने छैनन् । त्यही किताबकै कारण जेल जीवनपछि समाजमा केही गर्छु भन्ने आँट आउनेछ । हो त्यही भएर यस्ता जीवन उपयोगी र प्रेरणादायी किताबहरु कर्णाली प्रदेश प्रहरीले खोजिरहेको छ ।

कर्णाली प्रदेशका दसवटै कारागारका लागि प्रहरीले किताबको खोजी अभियान थालेको हो । विगत एक महिनादेखि प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहको संयोजकत्वमा सुरु भएको अभियानलाई थप प्रभावकारी बनाउन ‘कारागारलाई किताब अभियान उपसमिति’ गठन गरिने भएको छ । 

कर्णाली प्रदेशका १० वटै जिल्लामा जिल्ला प्रहरी प्रमुखको संयोजकत्वमा समिति गठन गरिएको छ । उपसमितिले अभियान थप प्रभाबकारी रुपमा सञ्चालन गर्न स्थानीय स्तरबाट अभियान सञ्चालन गर्ने डिआइजी शाह बताउँछन् ।

प्रदेशका १० वटै जिल्लाका कैदीहरुले जीवन उपयोगी किताब मागेपछि प्रहरीले यो अभियान थालेको हो । कैदीहरुलाई उत्प्रेरणा, उत्साह र जीवनबारे बुझाउने पुस्तकहरू व्यवस्था गर्ने प्रहरीको योजना छ ।

समुदाय प्रहरी साझेदारी अभियानअन्तर्गत थालिएको यो अभियानले कैदीहरुलाई नयाँ बाटोमा डोर्‍याउने प्रहरीको अनुमान छ । ‘किताब पढौं, जीवन बदलौं’ भन्ने मूल नारासहित सञ्चालित अभियानले कैदी र थुनुवालाई असल नागरिक बनाई समाजमा घुलमिल गराउन मद्दत पुग्ने प्रहरीको अपेक्षा छ । प्रहरीको यो अभियान सफल बनाउन कर्णालीका नागरिक अगुवा र समाजसेवीलगायतले साथ दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।