काठमाडौं- राजधानीबाट प्रकाशित बिहीबारका राष्ट्रिय दैनिक अखबारहरुले डा गोविन्द केसीले १६ औं अनसन सुरु गरेको र नेपाल–जापानबीच हवाईसेवा सम्झौता भएको विषयलाई प्राथमिकतामा पारेका छन् ।
आजको नागरिक दैनिकले डा केसीले थाले १६ औं सत्याग्रह शीर्षकमा मुख्य समाचार छापेको छ । कान्तिपुर दैनिकले अनशन सुरु शीर्षकमा खबर लेखेको छ । उसले सम्झौताविपरित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित भएको पनि उल्लेख गरेको छ।
अन्नपूर्ण पोस्ट्ले केसी फेरि सत्याग्रहमा शीर्षकमा खबर छापेको छ भने नयाँ पत्रिकाले डा केसीले इलामबाट थाले १६ औं अनशन शीर्षकमा समाचार लेखेको छ ।
राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई संसदको शिक्षा तथा स्वास्थ्य समितिले बुधबार दिउँसो पारित गरेपछि डा गोविन्द केसीले अनशन सुरु गरेका हुन् । त्यसअघि अनशनको दिन तोकेको भएपनि समितिबाट सुधार अपेक्षा गर्दै दिउँसोसम्म पर्खेका थिए।
अनशन सुरु गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा डा केसीले सरकारले आफुलाई धोका दिएको बताए। उनले भने, 'सम्झौता बमोजिम अक्षरशः संशोधन गरेर अविलम्ब चिकित्सा शिक्षा बिधेयक पारित गरियोस्।'
उपसिमितले प्रस्ताव गरेको बिधेयकमा आफुसँग सरकारले गरेको सम्झौतालाई वेवास्ता गरेकाले अनशन बस्ने बताउँदै आएका उनले समितिले त्यही प्रस्ताव पारित गरेपछि अनशन सुरु गरेको पत्रपपत्रिकाले लेखेका छन् ।
यस्तै आजका पत्रपत्रिकाले नेपाल–जापानबीच सीधा हवाई उडान सम्झौता भएको विषयलाई पनि प्राथमिकतामा पारेका छन् ।
नागरिक दैनिकले नेपाल–जापान सीधा हवाई उडान सम्झौता शीर्षकमा खबर लेखेको छ । नयाँ पत्रिकाले काठमाडौं जापान सीधा उडान हुने शीर्षकमा खबर छापेको छ । अन्नपूर्ण पोस्ट्ले हवाई उडान सम्झौता भएको समाचारसँगै इन्डो–प्यासिफिकमा जापानले नेपालको समर्थन खोजेको खबर लेखेको छ ।
नेपाल र जापानबीच गत असार १४ मा पुनरावलोकन भएको हवाइ सम्झौता बुधबारदेखि लागू भएको छ। दुई परराष्ट्रमन्त्रीबीच कूटनीतिक नोट (सम्झौता) साटासाटपछि उक्त समझदारी लागू भएको हो।
पहिले नै सम्झौता भएपनि मन्त्री आएको समयमा पुनः जोड दिन र सम्झौता अनुरुप कूटनीतिक नोट साटासाट गर्ने कार्यक्रम राखिएको थियो। २५ वर्ष पुरानो हवाइ सम्झौता पुनरावलोकन भएर लागू भएसँगै नेपाल–जापान सीधा हवाइ उडानको बाटो खुलेको पत्रपत्रिकाले लेखेका छन् ।
आजको कान्तिपुर दैनिकले मन्त्री भ्रमणमा अढाई करोड शीर्षकमा मुख्य समाचार छापेको छ । सरकार बनेको १० महिनाको अवधिमा जिल्ला भ्रमण भन्दै अधिकांश मन्त्रीले राज्यबाट पैसा असुलेको समाचारमा उल्लेख छ ।
सबैभन्दा बढि भत्ता बुझ्ने मन्त्रीमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पहिलो नम्बरमा छन् । उनले १३ लाख ८३ हजार ९६० रुपैया लिएका छन् । दोस्रोमा पर्यटनमन्त्री रविन्द्र अधिकारी छन् । उनले १२ लाख ९७ हजार ७२० असुल गरेका छन् । तेस्रोमा शिक्षामन्त्री गिरिराजमणी पोखरेल छन् । उनले १० लाख ३३ हजार ४७० बुझेका छन् । यसरी अधिकांश मन्त्री भ्रमण भक्ता लिएको समाचारमा उल्लेख छ ।
आजको नयाँ पत्रिकाले भने लोकसेवामा ६ हजार पदमा ६ लाख आवेदन पर्ने गरेपनि सांसदका पिएलाई नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर खुवाउने गरेको विषयलाई मुख्य समाचार बनाएको छ । अझै सांसदहरुले नातागोताका मान्छे भाइ भतिजा, साला साली पिए राख्ने गरेको समाचारमा उल्लेख छ ।
नागरिकताको फोटोकपीका भरमा शाखा अधिकृतको जागिर
सांसदका पिएलाई शाखा अधिकृतसरहको सुविधा दिने संसद् सचिवालयले उनीहरूबाट नागरिकताको फोटोकपी मात्र लिन्छ । सांसदका आफन्त नै भए पनि कम्तीमा शाखा अधिकृतसरहको शैक्षिक योग्यता हुनुपर्ने हो । तर, अहिले जागिर खाइरहेका पिएहरूको शैक्षिक योग्यता कति हो ? संसद्मा कतै अभिलेख छैन ।
सांसदले आफ्नो पिएको नागरिकताको फोटोकपी मात्रै संसद्मा प्रस्तुत गर्छन् । त्यसैका आधारमा सांसदको खातामा पिएको तलब पठाइन्छ । नयाँ पत्रिकामा प्रकाशित समाचारअनुसार तलब सुविधासम्बन्धी संसद्को ऐनअनुसार सांसदका पिएले शाखा अधिकृतसरहको पारिश्रमिक पाउँछन् । तर, सांसदले श्रीमान्, श्रीमती, सालासाली र भान्जाभान्जीलगायत आफन्तलाई नियुक्त गरेका छन् । ‘सांसदहरूले आफ्नो पर्सनल असिस्टेन्ट आफैँ नियुक्त गर्नुहुन्छ ।
कति योग्यताको पिए आफूलाई चाहिने हो त्यो उहाँहरूले नै निर्णय गर्नुहुन्छ । उहाँहरू आफैँले पिएलाई दिएको नियुक्तिपत्र, पिएको नागरिकताको फोटोकपी र सांसदको बैंक अकाउन्ट सचिवालयले माग गर्छ,’ संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले भने ।
संसदले ५ मंसिर ०७३ सालमा पारित गरेको संघीय संसदका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनले सभामुखदेखि सांसदका पिएको पारिश्रमिक पिएकै खातामा जानुपर्ने व्यवस्था गरेको छ । तर, कानुन बनेको २ बर्ष बितिसक्दा पनि तलब सांसदकै खातामा जाने गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४