धनगढी- तीर्थ रानाको ह्याट्रिकको मद्दतमा नेपाल पुलिस क्लबले तेस्रो नेपाल आइस अन्तर्राष्ट्रिय सुदुरपश्चिम खप्तड गोल्डकपमा विजय भएको छ । धनगढी रंगशालामा बुधबार भएको खेलमा मोरङलाई पराजित गर्न तीर्थले ह्याट्रिक गरेका हुन् ।
उनले दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । खेलको पहिलो हाफमा दुई गोल गरेका तीर्थले दोस्रो हाफमा थप एक गोल गरेका थिए । सुरुवाती समयदेखि नै मोरङमाथी दवाव सृजना गरेको पुलिसले खेलके ७ औं मिनेटमा सुरुवाती अग्रता लिएका थिए ।
उनले पेनाल्टी क्षेत्रभित्रबाट गरेको शक्तिशाली प्रहारलाई मोरङका गोलरक्षक सन्तोष योन्जनले बचाउन सकेनन् । त्यसपछि खेलको ३५ औं मिनेटमा तीर्थले हेडरमार्फत गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे ।
उनले अभिषेक रिजालको उत्कृष्ट मुभमा बललाई पेनाल्टी क्षेत्रभित्रबाट किपरलाई बिट गरेर दिएको पासमा तीर्थले हेडरमार्फत गोल गरे । दोस्रो हाफमा पनि पुलिसले आक्रमक रणनीतिलाई कायम राख्दै पोस्टमा आक्रमण गरिरह्यो ।
५७ औं मिनेटमा सन्तोष हेमरुनको क्रसमा निरकुमार राईको भली प्रहारले पोस्टको दिशा लिन सकेन । लगत्तै निरकुमारले नै छोटो कर्नरमा सिधै पोस्टमा गरेको प्रहार क्रसबारमा लागेर फर्कियो ।
७५ औं मिनेटमा अभिषेकको पासमा सन्तोष हेमरुनको प्रहार फितलो रहँदा पुलिसले अग्रता बढाउन सकेन । दोस्रो हाफको इन्जुरी समयमा अभिषेक रिजालको पासमा तिर्थले गोल गर्दै ह्याट्रिक पूरा गरे ।
उनी खेलको म्यान अफ द म्याच घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । बिहिबार हुने खेलमा भ्याली च्यासल युवा क्लबले दिल्ली युनाइटेडसँग खेल्नेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४