जनकपुरधाम- हुलाकी सडकअन्तर्गतको कमला र बलान नदीमा पप्पु कन्स्ट्रक्सनले पुल निर्माण नगर्दा सर्वसाधारणलाई सास्ती भएको छ। हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला तथा सिरहा र सप्तरी जोडने बलान नदीमा पुल निर्माणको ठेक्का पाएका पप्पु कन्स्ट्रक्सनले म्याद बितिसके पनि पुल निर्माण गर्न सकेको छैन।
ठेक्का लिएको सात वर्षमा पनि ती दुवै नदीमा पुल निर्माण हुन नसक्दा हुलाकी सडक निर्माण कार्य प्रभावित हुनुका साथै सर्वसाधारणसमेत सास्ती भोग्न बाध्य भएका छन्।
कमला नदीमा पप्पु एन्ड लुम्बिनी जेभी र बलान नदीमा पप्पु एन्ड शर्मा जेभीले पुल निर्माणको ठेक्का लिएको थियो। लुम्बिनी र शर्मासमेत सहभागी भए पनि निर्माण कार्य पप्पु कन्स्ट्रक्सनले गर्दै आएको बताइएको छ।
दुवै पुल निर्माण गर्न २०६८ जेठ ३१ गते ठेक्का लागेको थियो। ठेक्का लागेको ४२ महिनाभित्र पप्पु कन्स्ट्रक्सनले २८ करोड १५ लाखमा पुल निर्माणको ठेक्का लिएको थियो। तर, ठेक्का लिएको सात वर्षमा ३० देखि ३५ प्रतिशत निर्माण कार्य मात्र पूरा हुन सकेको छ।
निर्माण कम्पनीले ढिलासुस्ती गर्दा थप गरिएको म्यादसमेत विगत मंसिरमा सकिसकेको छ। अहिले पप्पु कन्स्ट्रक्सनले पुनः म्याद थप गर्न निवेदन दिएको हुलाकी सडक आयोजना कार्यालय जनकपुरका डिभिजनल इन्जिनियर राजेन्द्र दासले जानकारी दिए।
‘पुल निर्माण गर्न निर्माण कम्पनीले ढिलाइ गरेको छ’, डिभिजनल इन्जिनियर दासले नेपाल समयसँग भने, ‘पहिलोपटक थप गरिएको म्याद मंसिरमै पूरा भयो। ठेक्का लिएको कन्स्ट्रक्सन कम्पनीले निर्माण कार्य पूरा गरेको छैन। अहिले फेरि म्याद थपका लागि माग गरेको छ।’
बन्द रहेको काम सुरु गर्न आफूहरुले पटकपटक पत्राचार गरेपछि कमला नदीमा पुल निर्माण कार्य सञ्चालनमा आएको दासले जानकारी दिए। कमला नदीमा पुल निर्माण कार्य सुरु भए पनि बलान नदीमा पुल निर्माण कार्य अझै सुरु हुन नसकेको उनको भनाइ छ। अब पनि निर्माण कार्यलाई तीव्रता नदिए आफूहरु कारबाही गर्न बाध्य हुन दासको चेतावनी थियो।
बलान र कमला नदीमा पुल निर्माण भइसकेपछि सप्तरी र जनकपुरबीचको दुरी ५८ किलोमिटर मात्र हुनेछ। यसैगरी सिरहा र जनकपुरबीचको दुरी २८ किलोमटिरमात्र हुनेछ। तर दुबै पुल निर्माण नहुँदा पूर्वपश्चिम राजमार्ग प्रयोग गरेर सप्तरीको राजविराजबाट जनकपुर पुग्न झन्डै ४ घन्टा लाग्ने गरेको छ।
पुल बनाउन माग गर्दै धर्ना
कमला र बलान नदीमा पुल निर्माणको माग राख्दै सिरहा सदरमुकाम सिरहामा ९ दिनदेखि रिले अनशन जारी छ। पुल निर्माण गर्न पटक पटक माग गरे पनि सम्बन्धित निकायले चासो नदिएको भन्दै हुलाकी सडक संघर्ष समितिले अनिश्चितकालीन रिले अनशन सुरु गरेको छ। नयाँ शक्ति पार्टीका सचिवालय सदस्य रामरिझन यादवको नेतृत्वमा संघर्ष समितिले पुल निर्माणको माग राख्दै सिरहाको महाव चोकमा रिले अनशन सुरु गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४