काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी नभएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै कांग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले सांसद खाँणलाई बोल्न समय दिएका थिए। सांसद खाँणले प्रतिनिधिसभा नियमावलीमा सभामुखको अनुमतिले प्रधानमन्त्री तथा मन्त्रीले सार्वजनिक वक्तव्य दिइसकेपछि सांसदले समय माग गरेर प्रश्न गर्न पाउने व्यवस्था रहेको उल्लेख गरे।
यही पुस २२ गते बैठकमा बोल्नका लागि समय माग गर्दा पनि समय नदिएकोप्रति गुनासो गर्दै उनले सरकार सांसदप्रति उत्तरदायी नभएको टिप्पणी गरे। खाँणले भने, 'सांसदले प्रश्न सोध्दा प्रधानमन्त्री र मन्त्रीले किन जवाफ दिनुहुन्न, हामीले नेपाली जनताको तर्फबाट प्रश्न सोध्ने हो, यसमा हाम्रो गम्भीर आपत्ति छ । सभामुखले सांसदको अधिकारको रक्षा गर्नुपर्छ भन्ने आग्रह छ।'
प्रधानमन्त्री र मन्त्रीले सांसदले उठाएको प्रश्नको जबाफ नदिए बैठक अवरोध गर्ने उनले ध्यानाकर्षण गराए। सांसद खाँणको भनाइप्रति सभामुख महराले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिँदा जबफ दिन निर्देशन दिए।
सो लगत्तै राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरु उभिएर विरोध जनाएपछि सभामुख महराले राजपा नेपालका प्रमुख सचेतक लक्ष्मणलाल कर्णलाई बोल्न समय दिएका थिए। सांसद कर्णले तराई मधेसमा भएका आन्दोलनमा मानवअधिकार हननका घटना भएको उल्लेख गर्दै त्यसको छानबिनका लागि सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्रलालको संयोजकत्वमा समिति गठन गरिएको जानकारी गराए।
उनले समितिले तीन हजार २६४ उजुरी सङ्कलन गरी छानबिन गर्नुका साथै प्रतिवेदन तयार गरी सरकारलाई बुझाए पनि हालसम्म सार्वजनिक नभएको सम्बन्धमा आपत्ति प्रकट गरे।
सांसद कर्णले प्रतिवेदन सार्वजनिक गर्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए। सभामुख महराले सोबारेमा सरकारको विशेष ध्यानाकर्षण गराएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४