काठमाडौं, पुस २५ : कञ्चनपुरमा गत साउन १० गते बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि पहल गर्ने अन्तर्राष्ट्रिय समाजवादी युवा संघले संकल्प गरेको छ।
डिसेम्बरमा राजधानीमा सपन्न भएको संघको भेलाले निर्मला पन्तसहित बलात्कारपछि न्याय नपाएका एक सयौं महिलाको न्यायका लागि पहल गर्ने संकल्प गरेको नेपाल तरुण दल काठमाडौंका सचिव दिनेश विक्रम शाहले जानकारी दिए।
भेलामा फिलिपिन्सको अक्बयान युथ, नेपाल विद्यार्थी संघ- नेपाल, नेपाल तरुण दल- नेपाल, नविन समाजमा लागि युवा-बर्मा, समाजवादी प्रजातन्त्रका लागि प्रगतिशिल युवा- थाइल्यान्ड, तिब्बत युथ कंग्रेस- चीन, भुटान युथ संगठन- भुटान, पेर्गेरकान इन्डोनेसीयालगायतको सहभागीता थियो।
उनका अनुसार एसिया प्यासिफिक क्षेत्रमा प्रजातन्त्र र मानव अधिकारका पक्षमा काम गर्दै आएको संघले वार्षिक कार्यक्रम अन्तर्गत पाँच संकल्प गरेको छ। जसमा एसियामा अल्पसंख्यक, पिछडिएका र वेपत्ता पारिएका व्यक्तिको पक्षमा काम गर्ने, नेपालमा रहेको भुटानी शरणार्थीको समस्या समाधानका लागि पहल गर्ने, तिब्बतको स्वतन्त्रताका लागि पहल गर्ने, थाइल्यान्ड निर्वाचनका लागि त्यहाँ नागरिकलाई सहयोग गर्ने र नेपालमा बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तको न्यायका लागि पहल गर्ने संकल्प गरेको छ।
यससँगै विभिन्न सिप विकास, नेतृत्व क्षमता अभिवृद्धि, विभिन्न चेतनामुलक अभियानहरु सञ्चालन गर्ने, नेटवर्क विस्तार गर्ने र अन्तर्राष्ट्रिय कानुनलगायतका विषयमा वकालत गर्ने जनाइएको छ। त्यसेगरी संघले मानव अधिकार अभियानसँगै मौसम परिवर्तन, लैंगिक विभेदको अन्त्य र महिला हिंसा तथा भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्ने जनाइएको छ।
सार्क राष्ट्रमा संगठन विस्तार गर्ने, फिलिपिन्समा विद्यार्थी संगठन विस्तार गर्ने, दक्षिण पूर्वी एसियामा राजनीतिक संगठन र नेपालमा महिला संगठन विस्तार गर्ने जनाइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४