बुधबार, साउन १३, २०८३

विद्युतीय जोखिममा सिंगो गाउँ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
पर्वत- लामो समयदेखि काठको पोल मर्मतसम्भार नहुँदा एक सिंगो गाउँ विद्युतीय जोखिममा परेको छ। 

पर्वतको कुश्मा नगरपालिका-१२ ठूलीपोखरीका अधिकांश टोल विद्युतीय जोखिममा परेका हुन्। सामुदायिक विद्युतीकरण उपभोक्ता समितिद्वारा झण्डै एक दशक अघि विद्युतीकरण गरिएको भए पनि काठका पोल मर्मत र परिवर्तन नगर्दा झण्डै ५०० परिवार जोखिममा परेको स्थानीयवासीले बताएका छन्। 

घर नजिकैबाट गरिएको विद्युतीकरणका पोल जीर्ण भएर ढल्न लाग्दा कतिबेला मानवीय वा पशु चौपायाको क्षति हुने हो भन्ने त्रासमा बस्नुपरेको स्थानीयवासी दीपक सापकोटाले बताए। सम्बन्धित निकायको ध्यान जान नसक्दा भाँचिएका र जीर्ण बनेका पोल टुलुटुलु हेरेर बस्नुको विकल्प नभएको उनको भनाइ छ। 

विद्युत्का काठे पोल परिवर्तन गरेर फलामे पोल राख्नका लागि माग गरे पनि सुनुवाइ नभएको उनले बताए। साविक ठूलीपोखरी गाविसको-२ मा अवस्थित जनज्योति प्राविका विद्यार्थी झनै बढी जोखिममा परेका छन्। विद्यालय हाताबाट तानिएको‘थ्रि फेज लाइन’को पोलनै भाँचिन लागेकाले विद्यार्थी निकै त्रसित बनेका छन्। 

अब हावाहुरीको मौसम शुरु भएकोले कतिबेला पोल भाँचिएर विद्यार्थीलाई करेण्ट लाग्ने हो भन्ने त्रास बढेको स्थानीयवासी सन्तोष सुवेदीले बताए। उनले यसको मर्मतका लागि तत्काल सामुदायिक विद्युतीकरण समिति वा वडा कार्यालयले ध्यान दिनुपर्ने माग गरे। कतिपय फलामे पोल परिवर्तन गरिएका ठाउँमा पनि तार परिवर्तन नगरिएको गुनासो रहेको छ। 

पटकपटक विद्युत् प्राधिकरण र नगरपालिकामा माग गरे पनि कुनै सुनुवाइ नभएको स्थानीयवासीको गुनासो रहेको छ । यस्तै अवस्था रहने हो भने अबको चैत, वैशाखमा हावाहुरी आउँदा ठूलो दुर्घटना हुने सम्भावना रहेको स्थानीयवासी हेमराज सापकोटाले गुनासो गरे। 

कुश्मा नगरपालिका-१२ का अध्यक्ष राजेन्द्र पौडेलले लामो समय पोल परिवर्तन नहुँदा जोखिम बढ्दै गएको बताउँदै पोल परिवर्तनका लागि नगरपालिकाले पहल गरेको बताए। उनले उक्त वडामा मात्रै झण्डै २०० पोल परिवर्तन गर्नुपर्ने भएकाले त्यसको व्यवस्थापनमा लागिएको जानकारी दिए। उनले भने, “सामुदायिक विद्युतीकरण समितिले काम गर्न नसक्दा समस्या भएको हो।' 

यता समितिसमेत लामो समयदेखि निस्क्रिय बनेको छ। विद्युत्को नियमित आपूर्ति नगर्ने, मर्मतसम्भारमा ध्यान नदिने र समितिको आर्थिक पारदर्शिता, साधारणसभा, अधिवेशनसमेत नगरेको स्थानीयको गुनासो रहेको रहेको छ। 

केन्द्रीय प्रशारण लाइनको पहुँचको अभावमा समुदाय र प्रत्येक घरधुरीबाट आर्थिक सङ्कलन गरेर विद्युतीकरण गरे पनि त्यसको पारदर्शिता कायम नगरेको स्थानीयवासी हेमराज सापकोटाले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।