काठमाडौं- जथाभाबी सवारीसाधन रोकेर ट्राफिक व्यवस्थापनमा समस्या उत्पन्न भएपछि 'ह्विल लक' प्रणाली सुरु गरिएको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकामा हुने अत्यधिक जाम व्यवस्थित पार्न र अनधिकृत पार्किङ निरुत्साहित गर्न ‘ह्विल लक’ गर्ने कार्य सुरु गरेको छ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले अनधिकृत रूपमा पार्किङ गर्ने सवारीसाधनलाई विशेष कारबाहीअन्तर्गत ‘ह्विल लक’लगाउन सुरु गरिएको बताए। मंगलबारदेखि सुरु गरिएको उक्त अभियानमा ४५ चारपांग्रे सवारीसाधनमा ‘ह्विल लक’गरेर चालकलाई कारबाही गरिएको एसएसपी पन्तले जानकारी दिए।
ट्राफिक प्रहरीले ‘ह्विल लक’ लगाउँदा सम्बन्धित सवारीचालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहित तयार पारेको ‘स्टिकर’ चालकतर्फको झ्यालमा टाँस्नसमेत सुरु गरेको छ। महाशाखाका अनुसार ‘ह्विल लक’ खुलाउन ‘स्टिकर’मा लेखिएको ट्राफिक प्रहरीको मोबाइल वा ट्राफिक प्रहरीको हटलाइन १०३ मा सम्पर्क गर्नुपर्नेछ।
यसअघि दरबारमार्ग क्षेत्रमा एक घन्टाभन्दा बढी पार्किङ गर्ने सवारीसाधनलाई ‘ह्विल लक’लगाउँदै आएको महाशाखाले मंगलबारदेखि उपत्यकाका विभिन्न स्थानमा नियमित अनुगमन तथा कारबाही सुरु गरेको हो।





प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४