काठमाडौं- हावाबाट पनि बिजुली बल्छ भनेर नपत्याउने पाँचथर सप्तमी बजारका बासिन्दा यतिबेला उज्यालोमा बस्न पाएपछि दंग छन्। साँझको बेला घरमा टुकी बाल्ने दिन गएको स्थानीय बासिन्दा बताउँछन्।
हावा र सोलारबाट विद्युत् उत्पादन भएसँगै दाउराबाट बालिने आगोको सट्टा घरघरमा इन्डक्सन (बिजुली) चुलो, राइसकुकर, फ्रिजलगायतका विद्युतीय सामान भित्रिने क्रममा छन्।
स्थानीय गृहिणी सुखमाया लिम्बु हावाबाट बिजुली बल्छ भनेर जीवनमा नसोचेको तर अहिले बाल्न पाएकोमा दंग परेको बताउँछिन्। ‘मैले जीवनमा हावाबाट वत्ती बल्छ भनेर सोचेकै थिइनँ,’ उनले भनिन्, ‘तर अहिले आफैंले बाल्न सुरु गरेकी छु।’ आवश्यकताअनुसार विभिन्न इलेक्ट्रिकल सामग्री किन्ने योजना रहेको उनको भनाइ छ।
युवा वर्ष उच्चमाविका प्राचार्य जंगबहादुर थापा मगरले सौर्यबाट उत्पादित ५० किलोवाट र हावाबाट उत्पादित २० किलोवाटको मिश्रित विद्युत् प्रणाली (मिनिग्रिड) ले सप्तमी बजार पूरै झिलिमिली बनाएको बताए। उनका अनुसार स्थानीयबासीले २४ घन्टै विद्युत ऊर्जा प्राप्त गरिरहेका छन्।
मिक्लाजुङ गाउँपालिका–२ मा रहेको ११० बढी बासिन्दा बिजुली बत्तीबाट लाभान्वित भएका छन्। उक्त बजार अहिले एकाएक चर्चामा आएको छ। गाउँपालिका खुला दिसामुक्त क्षेत्र घोषणा भएको छ।

प्राचार्य मगरले सौर्य र वायु ऊर्जा प्रयोगसँगै विभिन्न नयाँ सम्भावनाका बाटा खुलेको जानकारी दिए। उनका अनुसार सप्तमीमा नर्थ नेपाल टी स्टेट लिमिटेड चियाँ कारखाना विगतदेखि नै सञ्चालनमा छ। चिज कारखाना, डेरीलगायत साना तथा घरेलु उद्योग पनि पुरानै विधिअनुसार सञ्चालन गरिन्थ्यो। बिजुली बत्ती आएपछि यस्ता उद्योगधन्दामा नयाँ प्रविधि भित्रिने प्राचार्य मगर बताउँछन्।
‘ऊर्जाका माध्यमबाट जुनसुकै काम सहज र सुलभ बन्ने देखिन्छ,’ उनले भने, ‘ब्युटिपार्लर, कोल्डस्टोरलगायतका साना तथा घरेलु उद्योगका लागि सञ्चालित ऊर्जा सहयोगी बन्ने देखिन्छ। यसबाट युवामा नयाँ तरंग थपिदिएको छ।’
मुलुककै ठूलो सौर्य-वायु मिश्रित प्रणाली
वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सौर्य वायु ऊर्जा विज्ञ खेमराज भण्डारीले सप्तमीमा निर्माण भएको उक्त सौर्य वायु मिश्रित विद्युत् प्रणाली मुलुककै ठूलो भएको बताए। केन्द्रले बिजुली नपुगेको ठाउँमा सौर्य र हावाका माध्यमबाट लघु विद्युत् आयोजना द्रुत गतिमा अघि बढाएको उनको भनाइ छ।
केन्द्रका अनुसार मकवानपुरको भोर्लेनी, अछामको कमल बजार, नवलपरासी, जुम्ला, सुर्खेत, पाल्पालगायतका विभिन्न ठाउँमा सौर्य, वायु तथा मिश्रित मिनिग्रिड प्रणाली सञ्चालनमा आइसकेको छ।
विज्ञ भण्डारीले पछिल्लो समय मुलुकका विभिन्न ठाउँबाट वैकल्पिक ऊर्जाको माग भइरहेको जानकारी दिए। उनले भने, ‘सरकारले पनि नयाँ प्रविधिका बढी क्षमताका प्रणाली थप्दै गएको छ।’ उनका अनुसार जुम्लामा अहिले ८० किलोवाट क्षमताको मिनिग्रिड निर्माणको काम चलिरहेको छ।
कसको लगानी कति?
सप्तमी सौर्य तथा वायु ऊर्जा मिनिग्रेट उपभोक्ता समितिका अध्यक्ष गंगा आङ्देम्बेले विगतमा हावाबाट बिजुली बाल्नुपर्छ भन्दा गाउँलेले नपत्याएको बताए। ‘हामीले सम्झायौं, बुझायौं, विश्वास दिलायौं र स्थानीयबाट रकमसमेत उठायौं,’ उनले भने।

उक्त योजनामा एसियाली विकास बैंक (एडिबी) को आर्थिक सहयोग र नेपाल सरकार वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोग रहेको छ। ‘अहिलेसम्म ९० प्रतिशत काम सम्पन्न भइसकेको छ। परीक्षण प्रसारणको क्रममा छ। बत्ती बलिरहेको छ,’ उनले भने, ‘ट्रान्सफरमर राख्नेलगायतका केही प्राविधिक काम बाँकी छन्। पुस महिनाभित्रै सबै काम सम्पन्न हुनेछ।’
उक्त अयोजनाको कुल लागत चार करोड ९४ लाख ५५ हजार रुपैयाँ रहेको छ। यसमा चार करोड ५० लाख २५ हजार एडिबीले सहयोग गरेको छ भने बाँकी ४४ लाख ३० हजार स्थानीय बासिन्दाबाट संकलन गरिएको हो। कुल लागतमा एडिबीको सहयोग ९० प्रतिशत छ भने स्थानीय बासिन्दा ११० घरको लगानी मात्रै १० प्रतिशत छ।
कसरी सुरु भयो योजना?
२०७० चैत २४ गते सात सदस्यीय उपभोक्ता समिति गठन भई पहिलो बैठक बसेको थियो। बैठकले उक्त योजना अघि बढाउने निर्णय गर्यो। परियोजनाको ठेक्का निर्माण कार्य विराटनगरको टपसन कृष्ण ग्रिल र काठमाडौंको जेभी कम्पनीले लिए। २०७४ फागुन १५ गते ठेकेदार कम्पनी र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सम्झौता भयो। २०७५ साल वैशाख चौथो सातादेखि निर्माण कार्य सुरु भएको उपभोक्ता समितिका अध्यक्ष आङ्गदेम्बेले बताए।
राष्ट्रिय प्रसारण लाइनसँग छिट्टै जोडिने
उक्त प्रणालीलाई राष्ट्रिय प्रसारण लाइनसँग जोडिनेछ। सौर्य वायु ऊर्जाविद् भण्डारी भन्छन्, ‘यो नेपालका लागि नयाँ प्रविधि हो।’ अब यसलाई मेन ग्रिडसँग जोडिनेछ। जसबाट स्थायी रुपमा मिनि ग्रिडमा ७० किलोवाट क्षमता ऊर्जा कायम रहन्छ। ‘यसबाट ग्रिडमा ऊर्जा क्षमता स्थिर रहन्छ र उपभोक्तालाई कुनै अवरोध निम्तिँदैन,’ उपभोक्ता समितिका अध्यक्ष आङ्देम्बेले भने, ‘त्यसका लागि ट्रान्सफरमर राख्ने तयारी अघि बढेको छ।’
पुस २० गते प्रधानमन्त्री केपी ओलिले मिक्लाजुङ गाउँपालिका-४ रविबजारमा राष्ट्रिय प्रसारण लाइन उद्घाटन गरेका छन्। सोही लाइन एक महिनाभित्र सप्तमी बजारमा जोडिनेछ।
प्रिपेड स्मार्टकार्ड प्रयोग
नयाँ प्रविधिको विद्युत् मिटर राख्ने तयारी भइरहेको छ। प्रिपेड स्मार्ट कार्ड रिचार्जेबल मिटर बक्स हो। यसमा उपभोक्ताले पैसा तिर्छ अनि मात्रै बत्ती बल्छ। उपभोक्ता समितिका अनुसार सबै घरमा यस्तो मिटर जडान गरिनेछ। मिटरमा छुट्टाछुट्टै कोड नम्बर राखिन्छ। कोड नम्बरका आधारमा विद्युत खपतका लागि रिचार्ज गरिनेछ। तत्कालका लागि प्रतियुनिट ७ रुपैयाँ शुल्क तोकिएको छ।