सुर्खेत - जंगलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायले पहिलोपटक कोट लगाएको छ। कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको विशेष पहलमा राउटेले कोट लगाएका हुन्। नसिलाएरै सेता कपडाका गाजा (शरीर ढाक्ने) बाँध्दै आएका राउटेहरुले कोट लगाएका छन्। राउटेहरुलाई पनि आधुनिक समाजसँग नजिक बनाउन मन्त्रालयले कोट लगाइदिएको हो। सामाजिक विकास मन्त्रालयका सचिव मानबहादुर विकेका अनुसार बिस्तारै राउटेहरुलाई घरमा ल्याउन र उनीहरुको जीवनरक्षाका लागि पहिलो चरणमा कोट वितरण गरेको हो।
‘जंगलमा बस्ता स्वास्थ्य उपचार र खानपिनको समस्या हुन्छ’, विकेले भने, ‘एकै पटक उहाँहरुलाई घरमा बस्ने बनाउन सकिँदैन, बिस्तारै आधुनिक समाजसँग घुलमिल गराउन कोट दिएका हौँ।’ मन्त्रालयका अनुसार बिस्तारै राउटे समुदायलाई जंगलबाट घरको बासस्थानमा ल्याउने प्रदेश सरकारको लक्ष्य छ। जंगलमा सिकारको कमी हुँदै जाँदा राउटेहरुलाई खानको कमी हुने बिस्तारै विभिन्न रोगको संक्रमणबाट बचाउन उपयुक्त बस्तीको खोजी गरी सुरक्षित साथ घरमा ल्याउने योजना छ।
राउटे मुखिया सूर्यबहादुर शाहीले भने आफ्नो पहिरन नत्याग्ने तर सरकारले दिएपछि कोट पनि लगाइदिने बताए। ‘हाम्रो चिनो त छोड्ने होइन तर कहिलेकाहीं कोट पनि लगाउने हो’, शाहीले भने। राउटेको जीवनरक्षा र सामाजिक रुपान्तरणका लागि सोसेक नेपाल नामक गैरसरकारी संस्थाले राउटे समुदायमै पुगेर काम गरिरहेको छ। ठूलो संख्यामा रहेको राउटे समुदाय विभिन्न रोगको संक्रमणका कारण संख्यामा कमी आउन थालेपछि उनीहरुको जीवन रक्षाका लागि काम गरेको सोसेक नेपालका अध्यक्ष हरिसंह थापा बताउँछन्।
पहिचान मेटाउन थालेकोमा विरोध
राउटे समुदायलाई कोट वितरण गरेसँगै सर्वसाधारणहरुले भने यसको विरोध गर्न थालेका छन्। राउटे समुदाय कर्णाली प्रदेश र सिंगो नेपालकै गहना भएको भन्दै पहिरन परिवर्तन गर्न नहुने सर्वसाधारणले तर्क गरेका छन्। ‘राउटेको आफ्नै पहिचान र संस्कृति छ’, वीरेन्द्रनगर ६ का सूर्यप्रकाश कँडेल भन्छन्, ‘राउटेको पहिचान भनेको उनीहरुको पहिरन हो, पहिरनलाई बदल्ने होइन, जोगाउनुपर्छ।’ राज्य र गैर राज्यपक्षले उनीहरुको संस्कृतिमाथि धावा बोल्दै मागी खाने बनाएको उनको आरोप छ। समय मागसँगै राउटेहरुका आधारभूत आवश्यकताहरु पूरा गर्न राज्यले ध्यान दिनुपर्ने तर उनीहरुको संस्कृतिको रक्षा गर्नुपर्ने उनको तर्क छ।
वीरेन्द्रनगर ६ कै चिन्तामणि शर्माले पनि राउटेहरु कर्णाली प्रदेश र सिंगो नेपालको गहना भएको उल्लेख गर्दै भेषसुषामा कुनै परिवर्तन गर्न आवश्यक नभएको बताए। पोसाककै कारण राउटेले विश्वका पर्यटकहरुलाई तान्न सक्ने तर्क गर्दै उनीहरुलाई कोट वितरण गर्नुभन्दा परम्परागत पहिरनलाई जोगाउनतर्फ सरकारले ध्यान दिनुपर्ने सुझाव छ।
राउटे जस्तै विश्वका केही देशमा पनि जंगलमै जीवन बिताउने मानिसहरु रहेको भन्दै उनीहरुको पहिचान मेटाउन नहुने सर्वसाधारणको भनाइ छ। फागुन २१ गते मात्रै प्रदेश सरकार र सोकेकले लेखबेसी १ रातेखोलमै पुगेर कोट, जुत्ता र बालबालिकाका लागि लेखौना वितरण गरेका थिए। गत असारमा दैलेखको गुराँस गाउँपालिकाले राउटे समुदायलाई पहिलोपटक परिचयपत्र वितरण गरेको थियो। परिचय पत्रकै आधारमा गाउँपालिकाले राउटे सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ। परिचयपत्र वितरण गर्दा एक सय ४९ जना रहेकोमा राउटेहरु विभिन्न कालगतिले घटेर एक सय ४५ जना मात्रै छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४