इटहरी- प्रदेश १ मा सत्तापक्ष र प्रमुख प्रतिपक्षका प्रदेश सांसदहरुले परिवार र आफन्तलाई स्वकीय सचिव (पिए) बनाए पनि सना दलहरुले भने बनाएका छैनन् । प्रदेश १ का १४ जना नेकपाका सांसद र ७ जना नेपाली कांग्रेसका सांसदहरुले आफन्तलाई पिए बनाएका छन् । प्रदेश १ का नेकपाका ६७ र कांग्रेसका २१ जना छन् ।
संसादका पिए बन्नेमा सांसदका श्रीमती, छोरा, छोरी, बहिनी, ज्वाइँ, भतिज, नन्द, बुहारी, नातिलगायत नजिकका आफन्त छन् । हरेक महिनाको अन्तिम सातामा सांसदका पिएको सानिमा बैंकको आफ्नो खातामा २३ हजार २ सय ६५ रुपैयाँ तलब जम्मा हुन्छ ।
यसरी सत्तापक्षको नेकपा र प्रमुख प्रतिपक्षको नेपाली कांग्रेसका सांसदहरूले पिएमा आफन्त नियुक्ति गरे पनि राप्रपा, संघीय लिम्बुवान मञ्च र संघीय समाजवादी फोरमका सांसदले आफन्तलाई पिए बनाएका छैनन् ।
लिम्बुवानकी सांसद विष्णुमाया तुम्बाहाम्फेले आफ्ना पार्टीका नेता केदारप्रसाद उप्रेतीलाई पिए बनाएकी छिन् । राप्रपाकी एक्ली सांसद इन्दिरा राईले आफ्नै पार्टीकी कार्यकर्ता अनुराधा श्रेष्ठलाई पिए बनाएकी छिन् ।
संघीय समाजवादी फोरमका संसदीय दलका नेता जयराम यादवले आफ्नै कार्यकर्ता राकेशरोशन यादवलाई पिए बनाएका छन् । थर मिले पनि सांसद यादवका आफन्त र परिवार सदस्य हैनन् राकेश रोशन । यस्तैगरी फोरकै सांसद आरसी तुम्बाले केदार धिमाल र सांसद राधा थापाले मीरा कार्कीलाई पिए बनाएकी छिन् ।
पिए बनाउन पार्टीकै निर्देशनमा पार्टीमा सक्रियहरुलाई आफूहरुले बनाएको लिम्बुवान सांसद तुम्बाहाम्फे र राप्रपा सांसद राईले बताइन् । संघीय समाजवादी फोरमका प्रदेश १ का संसदीय दलका नेता जयराम यादवले आफन्त र परिवारभन्दा पार्टीका योग्यहरुलाई पिए बनाउने पार्टी नीतिअनुसार पिए बनाएको बताए ।
यी हुन् आफन्तलाई पिए बनाउने नेकपाका सांसद
१. आशारत्न जबेगू - विजयादेवी जबेगू (बहिनी)
२. तुलसीप्रसाद न्यौपाने - बिन्दु न्यौपाने (छोरी)
३. निरन राई - सरिता राई (बहिनी)
४. वसन्तीदेवी यादव - अरबिन्दकुमार यादव (छोरा)
५. बुद्धिकुमार राजभण्डारी - दिनेश राजभण्डारी (भतिज)
६. मोहनकुमार खड्का - एकीन्द्रराज कटुवाल (ज्वाइँ)
७. सुनिता चौधरी- बिना चौधरी (भाइबुहारी)
८. सीता थेबे- शर्मिला थेबे (बहिनी)
९. काजीमान कागते- लाक्पादोर्जी कागते (छोरा)
१०. वृषबहादुर प्रधान- पुष्पा उप्रेती (छोरीकी नन्द)
११. श्रीप्रसाद मैनाली- धनपति मैनाली (भतिज)
१२. ज्योति सुब्बा- कृतिका सुब्बा (नातिनी)
१३. पूर्णप्रसाद राई- भरतकुमार राई (भान्जा)
१४. सरिता थापा- उत्तरबहादुर खड्का (भतिज)
यी हुन् आफन्तलाई पिएमा भर्ना गर्ने कांग्रेस सांसद
१. प्रतापप्रकाश हाङगाम- डम्बर हाङगाम (भतिज)
२. मोहम्मद ताहिर मिया- असलम मिया (नाति)
३. बिन्दिया कार्की- रविनसिङ कार्की (छोरा)
४. सन्जाकुमारी दनुवार- ज्ञानी दनुवार (भदै)
५. शान्ता पौडेल- प्रतिमा पौडेल (छोरी)
६. शिवनारायण सिंह गनगाई- विनायक गनगाई (छोरा)
७. हिमाल कार्की- नताशा कार्की (श्रीमती)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४