काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारका प्रवक्ता रामेश्वर दंगालका अनुसार गैरकानूनी रुपमा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ सम्पत्ति आर्जन गरेको दावीसहित अख्तियारले खड्काविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० अनुसार दुई वर्षसम्म कैद सजाय, बिगो बमोजिम जरिवाना तथा बिगो भाराउन माग गरेको छ।
खड्कासहित उनको सम्पत्ति लुकाउनमा संलग्न अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।
खड्काले नेपाल आयल निगमको कार्यकारी निर्देशक हुँदा र त्यसअघि सरकारी सेवामा रहँदा १८ करोड ६६ लाख ५ हजार रुपैयाँ बढी अबैध आर्जन गरेको अख्तियारको ठहर छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४