क्वालालम्पुर – मलेसियाका राजा सुल्तान मुहम्मद पाँचौंले राजगद्दी त्याग गरेको राजप्रासाद अधिकारीहरुले आइतबार बताएका छन्। यो घोषणासँगै मलेसियाका राजा बिदामा बस्नुको कारणबारे केही सातादेखिको चलिरहेको अडकलबाजी समाप्त भएको छ।
मलेसियाली राजाले रुसी पूर्व सुन्दरीसँग विवाह गरेको अनुमान पनि गरिएको छ।
मुस्लिम–बहुल मलेसियामा सन् १९५७ यता कुनै राजाले राजगद्दी त्याग गरेको यो पहिलो घटना हो। राजप्रासाद कार्यालयको वक्तव्यमा भनिएको छ, ‘महाराजाधिराज सुल्तानले जनवरी ६ तारिखबाट लागू हुनेगरी १५औं राजाका रुपमा गद्दी त्याग गरेको राजदरबारले जानकारी दिएको छ।’
तर राजप्रासाद कार्यालयले ४९ वर्षीय राजाले राजगद्दी त्याग गर्नुको कुनै कारण खुलाएको छैन।
राजा सुल्तानले सन् २०१६ डिसेम्बरमा राजगद्दी सम्हालेका थिए। उनले गत नोभेम्बरमा औषधि उपचारका लागि भन्दै लामो विदा लिएका थिए।
उनले विदा लिएलगत्तै केही अनलाइन सञ्चार माध्यममा राजा सुल्तानले रुसकी पूर्व सुन्दरी (मिस मस्को) सँग विवाह गरेको खबर आएको थियो।
मलेसियामा संवैधानिक राजतन्त्रात्मक व्यवस्था छ। मलेसियाका नौ वटा राज्यबाट पालैपालो हरेक पाँच वर्षमा नयाँ राजा हुने अनौठो प्रचलन छ। रासस/एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४