शनिबार, पुस ५, २०८२

न्यायाधीश सरुवाले पर्वतमा मुद्दा सुनुवाइ ठप्प

 |  आइतबार, पुस २८, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, पुस २८, २०८१

पर्वत- जिल्ला अदालत पर्वतमा कार्यरत न्यायाधीश सरुवा हुँदा चालु अवस्थामा रहेका मुद्दा विगत १५ दिनदेखि सुनुवाइ ठप्प भएको छ। जिल्ला अदालतमा कार्यरत न्यायाधीश विद्याराज पौडेलको गत पुस १२ गते सरुवा भएको हो। उक्त दिनदेखि अदालतमा रहेका मुद्दाको सुनुवाइ हुन सकेको छैन।

National life

जिल्लामा कार्यरत न्यायाधीश पौडेलको मुस्ताङको जिल्ला न्यायाधीशका रूपमा सरुवा भएको थियो। न्यायाधीश पौडेलको स्थानमा पर्वत जिल्ला अदालतमा अछामबाट प्रकाश ढुङ्गानाको सरुवा भएको छ।

अछामबाट सरुवा हुनुभएका जिल्ला न्यायाधीश कार्यक्षेत्रमा हालसम्म उपस्थित नहुँदा दैनिक मुद्दा सुनुवाइ कार्य रोकिएको पर्वत जिल्ला अदालतका श्रेस्तेदार वीरेन्द्रप्रकाश खड्काले बताए।

यौन दुर्व्यवहार घटनाकी पीडित एक महिलाले पटकपटक मुद्दा सुनुवाइ कार्य स्थगन हुँदा आफूले समयमा न्याय पाउन नसकेको गुनासो गरिन्। विसं २०८१ वैशाखमा यौन दुर्व्यवहार घटनाकी पीडित ती महिलाको अदालतमा मुद्दा चालु प्रक्रियामा छ।

आरोपित पुर्पक्षका लागि थुनामा भए पनि एउटै मुद्दा नौपटकसम्म इजलासमा पेशी चढेको अदालतको तथ्याङ्कमा उल्लेख छ। तर नौपटकसम्म पेशीका रूपमा इजलास पेस भएको मुद्दा ६ पटक विविध कारण देखाएर स्थगन भएको छ भने दुई पटकमात्र आदेश भएको छ।

Laxmi sunrise bank
kumari

न्यायका लागि अदालतमा आएका सर्वसाधारण पटकपटक मुद्दा सुनुवाइ प्रक्रिया स्थगन हुँदा र समयमा मुद्दा फर्छ्योट हुन नसक्दा समस्यामा परेका छन्।

पर्वत जिल्ला अदालतमा एउटा मात्र न्यायाधीशको दरबन्दी छ। न्यायाधीश नहुँदा अहिले दैनिक चारदेखि आठवटासम्म मुद्दाको इजलासबाट सुनुवाइ कार्य स्थगन हुने गरेको छ।

सामान्य थुनछेक आदेशकार्य भने नरोकिएको श्रेस्तेदार खड्काले बताए। पछिल्लो समय जिल्ला अदालतमा आर्थिक लेनदेनका मुद्दासँगै दुनियाबादी देवानी मुद्दाको सङ्ख्या अधिक रहेको उनले बताए।

प्रकाशित: Jan 12, 2025| 09:30 आइतबार, पुस २८, २०८१
प्रतिक्रिया दिनुहोस्