काठमाडौं - नेपाली कांग्रेसको प्रमुख भ्रातृ संगठन नेपाल विद्यार्थी संघको कार्य समितिको कार्यकाल सकिएको पाँच महिना भएको छ। विधानअनुसार संघको महाधिवेशन दुईदुई वर्षमा हुनुपर्ने हो। तर कार्यकाल सकिएको पाँच महिना बित्दा पनि संघको अधिवेशन हुने संकेत देखिएको छैन।
कांग्रेस विधानमा लेखिएको छ, ‘नेपाल विद्यार्थी संघको विद्यमान कार्य समितिले तोकिएको समय वा कार्यसमिति चयन भएको दुई वर्षभित्र अधिवेशन नगरेमा वा गर्न नसकेमा तत्कालै कार्य समिति विघटन गर्नुपर्छ र अधिवेशन गर्ने गरी बढीमा ६ महिना म्याद भएको तदर्थ समिति गठन गर्न सकिनेछ र उक्त समितिले ६ महिनाभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ।’
गत भदौ ३ गते संघको कार्यकाल सकिएको थियो। त्यसपछि विद्यमान कार्य समितिलाई नै संघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी दिएर तीन महिना थप गरिएको थियो। तर थपिएको तीन महिनामा महाधिवेशनका लागि सिन्को पनि भाँच्न नसकेपछि नेविसंघ विघटनको संघारमा पुगेको थियो। कांग्रेसले फेरि विधानविपरीत संघको कार्यकाल दुई महिना थप्यो।
थपिएको म्याद यही पुस २८ गते सकिँदैछ। तर थपिएको कार्यकालमा संघको नयाँ नेतृत्व चयनका लागि कुनै तयारी थालिएको छैन। अधिवेशन नतोकिँदा अब के हुन्छ भन्ने अन्योल विद्यार्थीमा बढेको छ।
कांग्रेस विधानमा लेखिएको छ, ‘नेपाल विद्यार्थी संघको विद्यमान कार्य समितिले तोकिएको समय वा कार्यसमिति चयन भएको दुई वर्षभित्र अधिवेशन नगरेमा वा गर्न नसकेमा तत्कालै कार्य समिति विघटन गर्नुपर्छ र अधिवेशन गर्ने गरी बढीमा ६ महिना म्याद भएको तदर्थ समिति गठन गर्न सकिनेछ र उक्त समितिले ६ महिनाभित्रै महाधिवेशन सम्पन्न गरिसक्नुपर्नेछ।’
०७३ साउन २२ गते सुरु भएको ११ औं महाधिवेशन विवाद लम्बिँदा ११ दिनसम्म चलेको थियो। महाधिवेशनले नैनसिंह महरको नेतृत्वमा एक सय २१ सदस्यीय कार्य समिति चयन ग¥यो। फोरम लोकतान्त्रिक नेपाली कांग्रेसमा विलय भएपछि कार्य समितिमा १५ जना थपिए।
त्यतिबेला अध्यक्षमा निर्वाचित महर सभापति शेरबहादुर देउवा निकट मानिन्छन्। महर अध्यक्षमा निर्वाचित भएपछि नेताहरू कृष्णप्रसाद सिटौला पक्षीय र रामचन्द्र पौडेल पक्षीय विद्यार्थी नेताहरूले संघको गतिविधि अगाडि बढ्न दिएनन्। सिटौला पक्षका मानिने संघका महामन्त्री कुन्दनराज काफ्लेसहित र पौडल पक्षका विद्यार्थी नेताहरूले स्वेच्छाचारी रूपमा चलेको भन्दै महरलाई कुनै निर्णय गर्नै दिएनन्। अनिर्णयको बन्दी बनेका महरले संघको महाधिवेशन तोकिएको समयमा गर्न नसकेपछि पार्टीले गत भदौ ३ गते तीन महिना लागि कार्यकाल थपेको हो।
महर नेतृत्वको कार्य समितिले दुई वर्ष पाँच महिनामा १४ जिल्लामा मात्र अधिवेशन सम्पन्न गरेको छ। बाँकी ६३ जिल्लामा अधिवेशन हुन सकेको छैन। नेपाली राजनीतिमा आफूलाई प्रजातन्त्रको ठेकेदार ठान्ने कांग्रेसको आन्तरिक राजनीतिमा कत्ति कमजोर छ भन्ने उदाहरण हो यो।
कांग्रेस अब संघको वर्तमान कार्य समितिलाई भंग गरेर अधिवेशन गराउने जिम्मेवारी तोकेर तदर्थ समिति गठनको तयारीमा छ। यतिबेला तदर्थ समिति कसको नेतृत्वमा गठन गर्ने र त्यसमा कोको रहने भन्नेमा विद्यार्थी नेताहरू विभिन्न गुटउपगुटमा लागेर नेताहरूको घरदैलो गरिरहेका छन्।
कांग्रेसले विद्यार्थी संघमा ३२ वर्षे उमेर हद तोकेको छ। स्रोतका अनुसार तदर्थ समितिमा बस्नका लागि पार्टी शीर्ष नेताहरू ४० वर्ष उमेर पुगेका विद्यार्थी नेतालाई काखी च्यापिरहेका छन्। नेताहरू आफैंले पार्टी केन्द्रीय कार्यसमितिबाट पारित निर्णय उल्लंघन गरिरहेका छन् ।
सभापति शेरबहादुर देउवाले वर्तमान महामन्त्री सरोज थापा र विद्यार्थी नेता राजीव ढुंगानालाई तदर्थ समितिमा राख्ने तयारीमा छन्। यस्तै नेता रामचन्द्र पौडेलले पूर्व केन्द्रीय सदस्य मोती भण्डारीलाई अगाडि सार्न खोजेका छन्।
अर्का नेता कृष्ण सिटौला भने तदर्थ समितिको नेतृत्व महामन्त्री कुन्दनराज काफ्लेलाई दिनुपर्ने अडानमा छन्। ढुंगाना, काफ्ले र भण्डारी ४० वर्ष माथिका हुन्। यस्तै थापा ३५ वर्ष माथिका छन्।
कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले नेविसंघको तदर्थ समिति गठनबारे पार्टीमा छिट्टै छलफल हुने बताए। उनले भने, ‘नेविसंघ कार्यसमितिको दुई दुईपटक थपिएको म्यादभित्र पनि महाविधेशन गर्न नसकेकाले अब पार्टीको शीर्ष नेतृत्वबाट निर्णय गरेर टुंगोमा पुग्नेछौँ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४