बिहीबार, साउन २८, २०८३

शीतलहरले जनजीवन प्रभावित

 |  शुक्रबार, पुस २६, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २६, २०८१

जलेश्वर- विगत पाँच दिनदेखि अविरल रुपमा चिसो स्याँठ चल्नुका साथै शीतलहरले महोत्तरीसहित तराई मधेसमा जनजीवन प्रभावित भएको छ। लगातारको चिसो वायुले तराईका जिल्लामा दैनिक रुपमा जाडो बढेको बढ्यै भएपछि जनजीवन प्रभावित भएको हो।

निरन्तरको चिसो कठ्याग्रिँदो हावा, शीतलहर, हुस्सु र बाक्लो कुहिरोका कारण पशुचौपाया तथा बालीनाली समेत प्रभावित बनेका जलेश्वर- ७ का वीरेन्द्र शर्माले बताए। चिसोकै कारण सदरमुकाम जलेश्वरमा नागरिकको चहलपहलमा कमी आएको छ। बाक्लो कुहिरोका कारण यातयातका कमै चल्न थालेका छन्।

जिल्लाका विभिन्न बजारमा बाक्लो ऊनी कपडाको बिक्रीमा बढोत्तरी भएको छ। चिसोले हाट बजारमा चहलपहल घटेको छ। चिया व्यापार भने बढेको जलेश्वर नगरपालिका- १ का चिया पसले उमेश साहले बताए।

चिसोकै कारण जिल्लाका विभिन्न स्वास्थ्य केन्द्र तथा जिल्ला अस्पतालमा बिरामीको सङ्ख्या ह्वात्तै बढेको चिकित्सकहरु बताउँछन्। जाडोबाट सबैभन्दा बढी बालबालिका, वृद्धवृद्धा र सुत्केरी प्रभावित भएका छन्। चिसोको कारण बालबालिका, वृद्धवृद्धा र सुत्केरीमा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्ने लगायतका समस्या देखिएको छ। जाडोबाट बच्न ठाउँठाउँमा स्थानीयले आगो बालेर घुर तापिरहेका छन्।

जाडोकै कारण ग्रामीण भेगमा बस्तुभाउलाई समेत समस्या भएको जलेश्वर–१० का सहदेव मण्डलले बताए।

प्रकाशित: Jan 10, 2025| 09:20 शुक्रबार, पुस २६, २०८१
प्रतिक्रिया दिनुहोस्